अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै भीरकोट नगरपालिका

अमृत अर्याल
भीरकोट ।

स्याङ्जाको मध्यभागमा रहेको भीरकोट नगरपालिकाले स्थानीय किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले अकबरे खुर्सानी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । स्वाद, सुगन्ध र स्वास्थ्यका दृष्टिले समेत महत्वपूर्ण मानिने अकबरे खुर्सानीको व्यावसायिक उत्पादन विस्तार गर्न नगरपालिकाले किसानलाई अनुदान, प्राविधिक सहयोग, तालिम, बीउ तथा मलखाद उपलब्ध गराउँदै आएको हो । स्थानीयस्तरमा अकबरे खुर्सानी अर्थात् डल्ले खुर्सानीको उत्पादन बढाएर किसानलाई नगदे बालीतर्फ आकर्षित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको भीरकोट नगरपालिकाका प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०८२÷८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार नगरपालिकाले हेफर प्रोजेक्टसँगको सहकार्यमा कृषक समूह, कृषि सहकारी तथा निजी कृषि फार्मलाई आवश्यक सहयोग उपलब्ध गराएर अकबरे खुर्सानी खेती विस्तार गर्न थालेको हो ।

नगरपालिकाले सूचना प्रकाशन गरी इच्छुक किसान तथा कृषि फार्मबाट आवेदन माग गरेको थियो । प्राप्त आवेदनमध्ये प्राविधिक मूल्यांकनका आधारमा कृषक समूह, सहकारी तथा फार्म छनोट गरी नगरपालिकाका नौवटै वडामा कार्यक्रम सञ्चालन गरिएको प्रमुख कर्माचार्यले बताए । छनोटमा परेका किसानलाई खेतीसम्बन्धी प्राविधिक सहयोग तथा तालिमसँगै बीउबिजन, मलखाद र आवश्यक अनुदानसमेत उपलब्ध गराइएको छ । कार्यक्रमअन्तर्गत किसानले उत्पादन गर्न थालेको अकबरे खुर्सानी बजारमा समेत पठाउन थालिएको छ । नगरपालिकाका अनुसार पहिलो चरणमा करिब दुई क्विन्टल खुर्सानी बुटवललगायत विभिन्न शहरमा निर्यात भइसकेको छ । किसानले प्रतिकिलो दुई सय रुपैयाँका दरले खुर्सानीको मूल्य प्राप्त गरिरहेका छन् ।

खुर्सानीको उत्पादन सुरु भएसँगै नगरपालिकाले किसानबाट नियमित रूपमा उत्पादन संकलन गरी बजार पठाउने व्यवस्था मिलाएको छ । हप्ताको दुई पटक आइतबार र बुधबार किसानबाट खुर्सानी संकलन गरी बाह्य बजारमा पठाउने गरिएको प्रमुख कर्माचार्यले बताए । यसले किसानलाई उत्पादनपछि बजार खोज्नुपर्ने समस्या केही हदसम्म समाधान भएको नगरपालिकाको भनाइ छ । भीरकोट नगरपालिकाका सबै वडामा गरी करिब ५० रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरिएको छ । हेफर प्रोजेक्टका प्रमुख पिताम्बर बस्यालका अनुसार चालु सिजनमा मात्रै तीन सय क्विन्टलभन्दा बढी अकबरे खुर्सानी उत्पादन हुने अनुमान गरिएको छ । उत्पादन बढ्दै गएसँगै बजार व्यवस्थापन र किसानलाई उचित मूल्य दिलाउनेतर्फ समेत ध्यान दिइएको उनले बताए ।

नेपालका पहाडी जिल्लामा उत्पादन हुने महत्वपूर्ण नगदे बालीका रूपमा अकबरे खुर्सानीलाई लिने गरिन्छ । यसको विशिष्ट तिखोपन, सुगन्ध र स्वादका कारण नेपाली बजारमा यसको माग उच्च छ । पछिल्लो समय देशका विभिन्न शहर तथा बाह्य बजारमा समेत अकबरे खुर्सानीको माग बढ्दै गएकाले व्यावसायिक खेतीबाट किसानले राम्रो आम्दानी लिन सक्ने सम्भावना रहेको नगरपालिकाले जनाएको छ । भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले अन्य सामान्य खुर्सानीको तुलनामा अकबरेको बजार मूल्य राम्रो हुने भएकाले किसानका लागि यो आकर्षक आम्दानीको स्रोत बन्न सक्ने बताए । नगरपालिकाभित्र र बाहिरबाट समेत अकबरे खुर्सानीको माग आउने गरेको र मूल्यसमेत तुलनात्मक रूपमा राम्रो रहेकाले किसानको जीवनस्तर सुधारमा सहयोग पुग्ने अपेक्षासहित कार्यक्रम अघि बढाइएको उनको भनाइ छ ।

उनका अनुसार अकबरे खुर्सानी खेतीका लागि ठूलो क्षेत्रफल आवश्यक नपर्ने भएकाले साना तथा सीमान्तकृत किसानले समेत यसलाई व्यावसायिक रूपमा अपनाउन सक्छन् । थोरै क्षेत्रफलमा समेत राम्रो उत्पादन लिन सकिने र बजारमा मूल्य स्थिर तथा उच्च रहने अवस्थाले किसानलाई नियमित आम्दानीको आधार तयार गर्न सहयोग पुग्ने लम्सालले बताए । नगरपालिकाले अकबरे खुर्सानीलाई कृषि आधुनिकीकरण र नगदे बाली प्रवर्द्धनसँग जोडेर हेरेको छ । स्थानीयस्तरमा उत्पादन बढाउँदै बाह्य बजारमा बिक्री गर्ने वातावरण निर्माण गर्न सके किसानको आम्दानी वृद्धि हुनुका साथै पालिकाको कृषि क्षेत्रलाई समेत व्यावसायिक बनाउन सकिने नगरपालिकाको विश्वास छ ।

अकबरे खुर्सानी आर्थिक दृष्टिले मात्र नभई पोषणका हिसाबले समेत महत्वपूर्ण रहेको हेफरका कृषि संयोजक अनिश अर्यालले बताए । उनका अनुसार अकबरे खुर्सानीमा भिटामिन ‘सी’, ‘ए’ र ‘ई’ लगायतका पोषक तत्व पाइन्छन् । यसमा पाइने क्याप्साइसिन नामक तत्वले शरीरमा विभिन्न स्वास्थ्य लाभ पुर्‍याउन सक्ने भएकाले अकबरे खुर्सानीलाई केवल स्वाद बढाउने मसला मात्र नभई पोषणका दृष्टिले पनि उपयोगी बालीका रूपमा लिन सकिने उनको भनाइ छ । अकबरे खुर्सानीको प्रयोग तरकारी, अचार तथा विभिन्न परिकारमा गरिन्छ । नेपाली खानाको स्वादमा यसको विशेष महत्व रहेको छ । बजारमा माग र मूल्य राम्रो भएकाले यसको व्यावसायिक उत्पादनले किसानलाई कृषि पेशामै टिकाइराख्न तथा वैकल्पिक आम्दानीको स्रोत सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नगरपालिकाले अकबरे खुर्सानी खेती विस्तारसँगै उत्पादनको गुणस्तर, रोग तथा कीरा व्यवस्थापन, मौसमजन्य जोखिम न्यूनीकरण र बजार सुनिश्चिततालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएको छ । किसानलाई निरन्तर प्राविधिक सेवा र बजारसँग जोड्न सके कार्यक्रम थप प्रभावकारी बन्ने नगरपालिकाको विश्वास छ । कृषि आधुनिकीकरण, स्थानीय उत्पादनको प्रवर्द्धन र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखेको भीरकोट नगरपालिकाले आगामी दिनमा पनि सम्भावना भएका नगदे बालीको व्यावसायिक उत्पादन विस्तार गर्ने जनाएको छ । अकबरे खुर्सानी खेतीमार्फत स्थानीय किसानको आयआर्जन बढाउँदै कृषि क्षेत्रलाई व्यावसायिक र आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रमलाई थप विस्तार गर्ने नगरपालिकाको योजना छ ।

प्रतिक्रिया