तीनदिन सर्तकता अपनाउन आग्रह

स्याङ्जा ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसम बुलेटिन अनुसार असोज ९ गतेदेखि ११ गतेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ । देशका विभिन्न भागमा भारी बर्षा हुन सक्ने चेतावनी दिदै विभागले ३ दिन उच्च सर्तकता अपनाउन आग्रह गरेको हो । भारी बर्षाको चपेटामा स्याङ्जा समेत पर्न सक्ने संकेत गरेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सर्तकता अपनाउनका लागि विज्ञप्ती मार्फत स्याङ्जावासीलाई अनुरोध गरेको छ । प्रशासन तथा सुरक्षा निकायले पनि नागरिकलाई सचेत गराउने, सूचनामुलक माईकिङ र प्रचारप्रसालाई तिब्र बनाएको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जारी गरेको सूचनामा मौसम पुर्वानुमान महाशाखाले ८ गते रातीदेखी असोज ११ गतेसम्म भारी बर्षा तथा अति भारी बर्षा हुने जानकारी दिएपछि सिद्धार्थ राजमार्गमा अत्याआवश्यक बाहेक साझ ७ बजेदेखी बिहान ५ बजेसम्म सवारी संचालनमा रोक लगाएको उल्लेख गरेको छ । यस्तो समयमा यात्रा नगर्न र अत्याआवश्यक बाहेक घरबाट बाहिर ननिस्कन समेत प्रशासनले नागरिकहरुलाई अपिल गरेको छ ।

यता भारी वर्षा हुने भएपछि सर्तकता अपनाउन स्याङ्जाका पालिकाहरुले नगरबासीलाई अनुरोध गरेका छन् । पालिकालहरुले सूचना प्रकाशन गर्दै आफ्ना नगरबासीलाई सचेत गराएका हुन् । वालिङ नगरपालिकाले आगामी केही दिन भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन नगरबासीलाई अपिल गरेको छ । सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन र अतिआवश्यक कामबाहेक घर बाहिर आवतजावत नगरी सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।

आँधिखोला तथा आँधीखोला तटीय क्षेत्र, अर्मादी खोला, मिर्दी खोला, बाँयाखोला, फौँदी खोला, च्याङ्दी लगायतका खोलानालासँग जोडिएका बस्तीमा बसोबास गर्ने नगरवासीहरूलाई खोलाको बहाव र बाढीको अवस्था निरन्तर अनुगमन गर्न तथा जोखिम बढेमा तत्काल नगर÷वडासँग समन्वय गरी सुरक्षित स्थानमा स्थानान्तरण हुन भनिएको छ ।

भारी वर्षाको समयमा भीर, पाखा तथा बाढी आउन सक्ने सम्भावित क्षेत्रमा नजान आग्रह गरिएको छ । वडा विपद् व्यवस्थापन समिति, टोल विकास संस्था, युवा क्लब, रेडक्रस र सरोकारवाला निकायहरूलाई सम्भावित जोखिमको पहिचान गरी उद्धार तथा राहतका लागि पूर्वतयारी अवस्थामा रहन समेत नगरपालिकाले सूचनामार्फत उल्लेख गरेको छ । मौसमसम्बन्धी अफवाह वा अपुष्ट समाचारको पछि नलागी नेपाल मौसम विज्ञान विभाग र स्थानीय निकायका आधिकारिक सूचनालाई मात्र आधार मान्न आग्रह गरिएको छ ।

यसैबीच चापाकोटमा शुक्रबार विद्यालयमा विदा दिईएको छ । शुक्रबारदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने भन्दै शिक्षा मन्त्रालयले आवश्यकताको आधारमा स्थानीय तहसंग समन्वय ११ गतेसम्म विद्यालयमा विदा दिन सक्ने उल्लेख गरेको थियो । सोहि आधारमा चापाकोट नगरपालिकाले शुक्रबार विद्यालय विदा दिएको हो । यता भीरकोट नगर प्यब्सनले पनि शुक्रवारदेखी ११ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

भीरकोट नगरपालिका, गल्याङ नगरपालिका, पुतलीबजार नगरपालिका, चापाकोट नगरपालिका सहित यहाँका गाउँपालिकाहरुले पनि उच्च सर्तकता अपनाउन पालिकाबासीलाई आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालयले विपद् जोखिममा पर्ने वित्तिकै स्थानीय जनप्रतिनिधि, प्रहरी सगँ समन्वय गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया