महाधिवेशन प्रतिनिधिमा ढुंगानाको उम्मेदवारी

 

भीरकोट ।

नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नंं। १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा युवा व्यवसायी रुद्र ढुंगानाले उम्मेदवारी दिने भएका छन्। ३० वर्षीय ढुंगानाले ‘३५ वर्षमुनिका युवा’ क्लष्टरबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिन लागेको पब्लिक आवाजसँगको कुराकानीमा बताएका हुन्। पोखरामा होटल इको ट्रि सञ्चालन गर्दै आएका ढुंगाना निर्माण व्यवसायमा समेत सक्रिय छन्। व्यवसायसँगै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएका उनी स्थानीयस्तरमा युवा पुस्तामाझ परिचित छन्।

हाल भीरकोट नगरपालिकाको वडा सदस्यसमेत रहेका ढुंगाना यसअघि स्कुल अफ डेमोक्रेसी भीरकोट इकाई सभापतिको जिम्मेवारीमा रहेर काम गरिसकेका छन्। २०७९ सालमा उनी नेपाल तरुण दल भीरकोट नगरपालिकाको अध्यक्षसमेत भएका थिए। हाल उनी भीरकोटका कान्छा जनप्रतिनिधिका रूपमा रहेका छन्। राजनीतिमा आफ्नो प्रवेश विद्यालय जीवनदेखि नै भएको ढुंगानाले बताए। उनले आफू नेपाल विद्यार्थी संघमार्फत काँग्रेसको राजनीतिमा सक्रिय भएको उल्लेख गर्दै भने, “म विद्यालयमा अध्ययन गर्दै बीपीको समाजवादबाट प्रभावित भएर नेविसंघमा लागेको हुँ। काँग्रेसको विशेष महाधिवेशनदेखि गगन थापा नेतृत्वको काँग्रेस अहिलेको आवश्यकता हो भनेर लागिरहेको छु।”

युवा पुस्ताको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै आफूले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिन लागेको ढुंगानाको भनाइ छ। व्यवसाय, सामाजिक गतिविधि तथा स्थानीय तहको जनप्रतिनिधिका रूपमा हासिल गरेको अनुभवलाई पार्टीको संगठनात्मक भूमिकामा समेत उपयोग गर्ने उनको भनाइ छ। नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिको छनोट प्रक्रिया असोज १० गते हुने कार्यतालिका रहेको छ। स्याङ्जा क्षेत्र नं। १ मा पनि विभिन्न समूह र क्लष्टरबाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ। यससँगै युवा क्लष्टरतर्फको प्रतिस्पर्धाले समेत जिल्लाको कांग्रेस राजनीतिमा चासो बढाएको छ।

प्रतिक्रिया