बयरघारीमा खुल्यो जापानी भाषा तथा ट्युसन सेन्टर
भीरकोट ।
जापानी भाषा सिक्न चाहने विद्यार्थी तथा युवाका लागि भीरकोट नगरपालिका–२, बयरघारी बजारमा नयाँ अवसर थपिएको छ। बयरघारीमा ‘स्मार्ट ल्याङ्ग्वेज एण्ड ट्युसन सेन्टर’ सञ्चालनमा आएको हो। जापानी भाषा सिकाइसँगै विद्यालय तथा क्याम्पस तहका विद्यार्थीलाई आवश्यकताअनुसार विषयगत ट्युसन कक्षा सञ्चालन गर्ने उद्देश्यले सेन्टर स्थापना गरिएको हो। सेन्टरको एक कार्यक्रमबीच भीरकोट नगरपालिकाका नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले उद्घाटन गरेका हुन्।
भरत खड्का र रूद्र ढुङ्गानाको संयुक्त पहलमा सञ्चालनमा आएको सेन्टर बयरघारी क्षेत्रमा जापानी भाषा अध्यापन गराउने पहिलो भाषा प्रशिक्षण केन्द्र भएको सञ्चालकहरूले बताएका छन्। स्थानीयस्तरमै जापानी भाषा सिक्ने अवसर उपलब्ध गराउने उद्देश्यले सेन्टर सञ्चालनमा ल्याइएको उनीहरूको भनाइ छ। सेन्टरमा जापानी भाषाका विभिन्न तहका कक्षा सञ्चालन गरिनेछ। विद्यार्थी तथा युवाको आवश्यकता र रुचिलाई ध्यानमा राख्दै जापानी भाषाका आधारभूतदेखि विभिन्न तहका कक्षाहरू सञ्चालन गर्ने तयारी गरिएको छ। यसका साथै विद्यालय तथा क्याम्पस तहमा अध्ययनरत विद्यार्थीका लागि माग र आवश्यकताका आधारमा विषयगत ट्युसन कक्षासमेत सञ्चालन गरिने सञ्चालकहरूले जनाएका छन्।
जापानी भाषा अध्ययन तथा ट्युसनका लागि बयरघारी तथा आसपासका विद्यार्थी अन्यत्र जानुपर्ने अवस्थालाई कम गर्ने सेन्टरको लक्ष्य छ। स्थानीय विद्यार्थीलाई आफ्नै क्षेत्रमा गुणस्तरीय भाषा शिक्षा तथा शैक्षिक सहयोग उपलब्ध गराउने उद्देश्यले सेन्टर सञ्चालनमा ल्याइएको सञ्चालक भरत खड्का र रूद्र ढुङ्गानाले बताएका छन्। पछिल्लो समय जापानी भाषा अध्ययनप्रति विद्यार्थी तथा युवाको आकर्षण बढिरहेका बेला स्थानीयस्तरमै भाषा प्रशिक्षण केन्द्र सञ्चालनमा आउनुले विद्यार्थीलाई सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी जापानमा अध्ययन तथा रोजगारीका अवसर खोजिरहेका युवाका लागि जापानी भाषाको आधारभूत तथा आवश्यक ज्ञान हासिल गर्न सेन्टर उपयोगी बन्ने सञ्चालकहरूको विश्वास छ।
सेन्टरले पठनपाठनलाई समयसापेक्ष र प्रभावकारी बनाउन परम्परागत शिक्षण पद्धतिसँगै आधुनिक सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको जनाएको छ। डिजिटल सामग्री तथा प्रविधिमैत्री शिक्षण विधिको प्रयोगमार्फत विद्यार्थीलाई सहज, व्यावहारिक र प्रभावकारी सिकाइ वातावरण उपलब्ध गराउने तयारी गरिएको छ। उद्घाटन कार्यक्रममा नगर प्रमुख कर्माचार्यले स्थानीय तहमा भाषा तथा शैक्षिक सेवा विस्तार हुनु सकारात्मक भएको बताए। विद्यार्थी तथा युवालाई ज्ञान, सीप र अवसरसँग जोड्न स्थानीयस्तरमा सञ्चालन हुने यस्ता शैक्षिक संस्थाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो। उनले बदलिँदो समयअनुसार विद्यार्थीले आफ्नो शैक्षिक योग्यतासँगै अतिरिक्त सीप र भाषाको ज्ञान हासिल गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै स्थानीयस्तरमै त्यस्ता अवसर उपलब्ध हुनु विद्यार्थीका लागि लाभदायक हुने बताए।
सेन्टरका सञ्चालक भरत खड्का र रूद्र ढुङ्गानाले विद्यार्थीको आवश्यकता र रुचिलाई केन्द्रमा राखेर गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विद्यार्थीलाई केवल पाठ्यक्रममा सीमित नभई व्यावहारिक ज्ञान तथा सीपसँग जोड्ने गरी शिक्षण सिकाइ सञ्चालन गरिने उनीहरूको भनाइ छ। बयरघारीमै जापानी भाषा र ट्युसन कक्षाको सुविधा सुरु भएपछि स्थानीय विद्यार्थी तथा युवाका लागि अध्ययनको नयाँ विकल्प थपिएको छ। आधुनिक प्रविधि र प्रभावकारी शिक्षण विधिलाई प्राथमिकता दिएको सेन्टरले बयरघारीको शैक्षिक क्षेत्रमा नयाँ सुरुवात गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया