क्षेत्रीय सभापतिमा नेत्रप्रसाद पाण्डेको उम्मेदवारी, संगठन सुदृढीकरणलाई प्राथमिकता

वालिङ ।
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा नेत्रप्रसाद पाण्डेले उम्मेदवारी दिने भएका छन् । वालिङ नगरपालिका–६ निवासी पाण्डे पाँच वर्षसम्म वालिङ नगर सभापतिको जिम्मेवारीमा रहेर पार्टी संगठन विस्तार र कार्यकर्ता परिचालनमा सक्रिय भूमिका निर्वाह गरेका नेता हुन् । उनी २०७८ साल असोजमा सम्पन्न १४औं महाधिवेशनबाट वालिङ नगर सभापतिमा निर्वाचित भएका थिए । असोज ७ गते उनको पाँच वर्षे कार्यकाल पूरा भएपछि उनी असोज ८ गतेदेखि निवर्तमान नगर सभापतिको रुपमा रहेका छन् ।

नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका पाण्डेले वालिङ ६ को वडा सभापतिको जिम्मेवारी दुई कार्यकाल सम्हालिसकेका छन् । कांग्रेसको १२औं र १३औं महाधिवेशनमा उनी नगर सभापतिका आकांक्षी भएपनि सहमतिका लागि सहज वातावरण निर्माणमा भूमिका खेलेका थिए । १४औं महाधिवेशनमा सहमति नजुटेपछि भएको निर्वाचनबाट उनी नगर सभापतिमा निर्वाचित भएका थिए ।

नगर सभापतिको जिम्मेवारीमा रहँदा पाण्डेले वालिङका विभिन्न सामाजिक संघ—संस्थामा कांग्रेसको उपस्थिति बढाउन महत्वपूर्ण भूमिका खेलेको समर्थकहरुको दाबी छ । उनी सभापति बन्नुअघि वालिङका अधिकांश सामाजिक संघ—संस्थाको नेतृत्वमा प्रमुख प्रतिस्पर्धी नेकपा एमाले निकट व्यक्तिहरुको बाहुल्य रहेकोमा सहकार्य र समन्वयमार्फत ती संस्थाहरुमा कांग्रेसनिकट व्यक्तिहरुको सहभागिता बढाउन सफल भएको बताइन्छ ।

पाण्डे नगर सभापतिमा सीमित नरही स्याङ्जा क्षेत्र नं. २ अन्तर्गतका विभिन्न पालिकाका कांग्रेस कार्यकर्ताका सामाजिक, प्रशासनिक तथा न्यायिक प्रकृतिका काममा समेत निरन्तर सहयोग गर्दै आएका छन् । कार्यकर्तासँगको निरन्तर सम्पर्क, समन्वय र सहयोगलाई उनले आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण पक्षका रुपमा लिँदै आएका छन् ।

पाँच वर्षे नगर सभापतिको सफल कार्यकाल पूरा गरेका पाण्डेले अब आफ्नो राजनीतिक यात्रा क्षेत्रीय नेतृत्वतर्फ केन्द्रित गरेका छन् । पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताबीच समन्वय बढाउने तथा स्थानीय तहदेखि क्षेत्रीय तहसम्म संगठनलाई थप सक्रिय र गतिशील बनाउने उद्देश्यसहित आफू क्षेत्रीय सभापतिको प्रतिस्पर्धामा उत्रिन लागेको पाण्डेको भनाइ छ । पाण्डेको उम्मेदवारीसँगै अर्का प्रदेश सभापति भएका अर्जुनप्रसाद खनालसगँ प्रतिस्पर्धा हुने सम्भावना देखिदा स्याङ्जा क्षेत्र नं. २ को कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ ।

प्रतिक्रिया