युएनडिपीको अस्पताललाई ४० लाखको सोलार सहयोग

वालिङ ।

भीरकोट नगर अस्पतालमा सोलार जडान गरिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको सहयोगमा अस्पतालनमा सोलार जडान गरिएको हो । अस्पतालमा १० केविए क्षमताको ३० वटा सोलार प्यानल जडान भएको अस्पतालका व्यवस्थापक छायादत्त रेग्मीले जानकारी दिए । सोलार जडान पश्चात अस्पतालको सेवा प्रवाह प्रभावकारी भएको रेग्मीले बताए । अहिले अस्पतालमा लाईन भएको र नभएको थाहै हुँदैन रेग्मीले भने । 

अस्पतालको सेवाप्रवाह प्रभावकारी बनाउन निरन्तर काम गरिरहेको भन्दै भीरकोट नगरप्रमुख छायाराम खनालले बिद्युत आपुर्तीमा समस्या नभए पछि सेवाग्राहीलाई निक्कै सजिलो हुने बताए । अस्पतालमा निकट भविश्यमा नै शुरु हुन लागको डाईलाईसिस सेवाका लागि सोलार बिद्युतले महत्वपूर्ण सहयोग हुने विश्वास खनालले गरे । 

जिल्लाको मुख्य भागमा रहेको अस्पतालमा सबै प्रकारका सेवा उपलव्ध हुने गरी तयारी भईरहेको नगरप्रमुख खनालको भनाई छ । अस्पताल संवेदनशिल ठाँउ रहेको र सेवा निरन्तर सूचारु रहोस् भनेर युएनडिपीले सहकार्य गरेको युएनडिपीका गण्डकी लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले बताए ।  बैकल्पिक उर्जाको प्रयोगले कार्वन उत्सर्जनमा समेत नियन्त्रण आउने र वातावरण संरक्षण हुने अर्यालको भनाई छ । अस्पतालमा जडान गरिएकोे सोलार सिस्टमको अनुगमन तथा निरिक्षण गर्दै अर्यालले सेवाको गुणस्तर बृद्धि र निरन्तरतामा सोलारले सहयोग गर्ने बिश्वास व्यक्त गरे ।  

बिद्युतको कारण प्रभावित हुने सेवा प्रभावकारी रुपमा सञ्चालन हुने भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषालले बताए । सूर्याेदय उर्जा प्रालीले अस्पतालमा सोलार जडानको जिम्मा पाएको हो । कोभिड १९ बाट संक्रमित भएकाहरुलाई राख्ने जिल्ला कै पहिलो आईसोलेसन समेत सोही अस्पतालमा नै बनाईएको छ । तत्कालिन अवस्थामा कालिका सामुदायिक अस्पतालको नामले परिचित रहेको उक्त अस्पतालको अहिले सम्पूर्ण जिम्मेवारी भीरकोट नगरपालिकाले लिएको छ । 

अस्पतालमा एक सय शैया रहेको भए पनि ५० शैयाको भने स्वीकृति लिईसकेको अस्पतालका व्यवस्थापक रेग्मीले बताए । अस्पतालमा दैनिक ४० देखि ५० जना आउने गरेका छन् । हाल अस्पतालमा डाक्टर सहित २३ जना कर्मचारी कार्यरत रहेकाछन् । झण्डै जिल्लाको मध्ये भाग र राजमार्गबाट नजिक रहेकाले सो अस्पताललाई ट्रमा सेन्टरका रुपमा बिकास गरिने योजना रहेको नगरप्रमुख खनालले बताए ।  

प्रतिक्रिया