पुर्णामृत माविमा सिलिण्डरमा आगलागी, सशस्त्र प्रहरी र विद्यार्थीबाट नियन्त्रण

स्याङ्जा ।
खुला चौरभरी विद्यार्थी र शिक्षकहरु, साथमा सशस्त्र प्रहरीको एक टुकुटी । विद्यार्थीहरु, शिक्षकहरु र सशस्त्र प्रहरीको घेरभित्र रहेको खुला चौरमा बिचमा ग्याँस सिलिण्डर । उक्त सिलिण्डरमा एक्कासी आगो लाग्छ अनि विद्यार्थी शिक्षकहरु तितरवितर हुन्छ । साथमा रहेको सशस्त्र प्रहरीको टुकुडीले नआत्तिनुहोस भन्दै भागाभाग गर्न लागेका विद्यार्थीहरु र शिक्षकहरुलाई सम्झाउने प्रयास गर्छ । सशस्त्र डराउनु पर्दैन भनेपछि विद्यार्थी र शिक्षकहरु टक्क अडिएर सिलिण्डरमा लागेको आगो हेर्छन् ।

सशस्त्र प्रहरीले सिलिण्डरमा लागेको आगोलाई सजिलो तवरबाट निभाउने काम गर्छ अनि अब सिलिण्डर नपड्कने भयो भनेर शिक्षक विद्यार्थीहरु ढुक्क हुन्छन् । यो स्याङ्जाको पुर्णामृत भवानी माध्यमिक विद्यालयको दृष्य हो । १६६ औं विश्व रेडक्रस दिवसको अवसरमा सशस्त्र प्रहरीले विपद् व्यवस्थापन बारे सचेतना प्रशिक्षण कार्यक्रममा प्रदर्शनी गरेको डेमो हो । विद्यालय वरीपरीका अभिभावकले स्कुलमा आगो लागेको होकी भन्ने जस्तोगरी प्रदर्शनी गरेको डेमो विद्यार्थीका लागि निकै आकर्षण र चाखलाग्दो थियो । सशस्त्र प्रहरी बल ३० नं. गुल्मले विश्व रेडक्रस दिवसको अवसरमा विद्यार्थीहरुलाई प्रयोगात्मक मार्फत कसरी विपद् व्यवस्थापन र आगो नियन्त्रण गर्न सकिन्छ भनेर डेमो प्रदर्शनी गरेको थियो ।

पुर्णामृत भवानी माविमा रहेको नेपाल जुनियर÷युवा रेडक्रस सर्कलको आयोजनामा तत्काल हुन सक्ने विपदबाट कसरी बच्ने र बचाउने सम्वन्धमा सशस्त्र प्रहरीबाट प्रशिक्षण गराइएको हो । सशस्त्र प्रहरी बल ३० नं. गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक लिलाबहादुर भुजेलको कमाण्डमा खटिएको टोलीले उक्त डेमो प्रदर्शनी गरेको नेजुरेस शिक्षक नायक यज्ञपुरुष रिजालले बताए । डिएसपी भुजेलले विद्यार्थीहरुलाई विपदु सम्वन्धी तालिम समेत दिएका थिए । विपद् न्युनिकरणका बारेमा प्रहरीले दिएको प्रशिक्षण र प्रयोगात्मक तालिमले विद्यार्थीहरुमा रुची बढाएको शिक्षक नायक रिजालले बताए ।

कार्यक्रममा जिल्ला रेडक्रस स्याङ्जाबाट युवा रेडक्रस संयोजक विष्णु सुवेदी गैह्रे, विद्यालयका निमित्त प्रधानाध्यापक दीपक लम्साल, पुर्व प्रधानाध्यापक बिष्ण अर्यालले विपद्मा घट्नालाई न्युनिकरण गर्न विद्यालयबाटै यस्ता प्रशिक्षणहरु दिनुपर्ने सुझाव दिए । हरेक वर्ष मे ८ मा मनाइदैं आएको विश्व रेडक्रस दिवसमा विद्यार्थीहरुले वृक्षारोपण, सरसफाइ, किशोर किशोरी तालिम, लैङ्गिक हिंसा विरूद्द सचेतना लगायत कार्यक्रमहरू गरेको थियो ।

 

प्रतिक्रिया