स्याङ्जाका सबै पालिका पुर्ण खोप सुनिश्चित

प्रकाश डोटेल,
स्याङ्जा ।

स्याङ्जा पूर्ण खोप सुनिश्चित जिल्ला बनेको छ । जिल्लाका ११ वटै पालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा गरेसँगै जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला बनेको हो ।

२०७५ साल असार यता हरेक वर्ष खोप लगाएको प्रमाणीकरण गरिँदै आएपछि मात्रै पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणीकरण गरिएको हो । जन्मेदेखि १५ महिनाभित्रका बालबालिकाहरुले पाउने ७ पटकमा १३ वटा रोग विरुद्धको ९ प्रकारका खोप लगाएपछि सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण गरिएको छ ।

प्रदेश स्वास्थ्य कार्यालय स्याङ्जाले सम्बन्धीत पालिकाका स्वास्थ्य शाखा तथा पालिकाको सहयोगमा पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणीकरणसम्बन्धीत पालिकामै गई कार्यक्रम गरेको प्रदेश स्वास्थ्य कार्यालयका मनिषकुमार झाले बताए ।

जिल्लाका २ हजार ७४६ जना बालबालिकाले जन्मेदेखि १५ महिनाभित्र पाउने खोप सम्पुर्ण खोप लगाएका छन् । पुर्ण खोप सुनिश्चित प्रमाणीकरणमा १६ देखि २३ महिनासम्मका बालबालिकाको खोप तथ्यांक संकलन गरिएको थियो ।

११ पालिका मध्येनगरपालिका तर्फ वालिङका ६ सय २० जना,पुतलीबजारका ५ सय २३ बालबालिका, गल्याङ्का३ सय २३,भीरकोटका २ सय ५३ र चापाकोटका १ सय ८८ बालबालिका तथा गाउँपालिका तर्फ कालीगण्डकीका २ सय ५, अर्जुनचौपारीका १ सय ५७, आँधीखोलाका १ सय ४६, हरिनासका १ सय ३१, फेदिखोलाका १ सय १४ र बिरुवाका ८६ जनाबालबालिकाले पुर्ण खोप प्राप्त गरेका छन् ।

जन्मदेखि १५ महिनासम्मका बालबालिकाले क्षयरोग, पोलियो, झाडापखला, भ्यागुते रोग, लहरे खोँकी, धनुष्टंकार, हेपटाईटिस बि, हेमोइन्फ्युएन्जा बि, निमोनिया, दादुरा, रुबेला, जापानिज इन्सेफ्लाईटिस र टाईफाईड गरी १३ रोग विरुद्धको खोप लगाएको सुनिश्चित भएपछि मात्रै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिन्छ ।

सबै पालिका पुर्ण खोप सुनिश्चिता तथा दिगोपना प्रमाणीकरण भएसँगै केहि समयभित्र जिल्लालाइृ समेत पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणीकरण गरिने जिल्ला समन्वय समितिले जनाएको छ । कोहि पनि बालबालिका खोप लगाउनबाट वञ्चित नहुँन भन्दै प्रमाणीकरण अभियान चलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया