स्याङ्जाको चापाकोटमा भेटियो ‘अफ्रिकन स्वाइन फिवर’

स्याङ्जा ।
किसानले पालेको बंगुरमा ‘अफ्रिकन स्वाइन फिवर’ रोग भेटिएको छ । स्याङ्जाको चापाकोट ९ का कृषक दिपेन्द्र गहराजले पालेको बंगुरहरुमा अफ्रिकन स्वाइन फिवर संक्रमण रहेको भेटिएको हो । गहतराज बहुउदेश्यी कृषि तथा पशुपालन फर्म संचालन गरेर कृषक गहतराजले बंगुर पालन गर्दै आएका थिए । फर्ममा पालेका सबै बंगुर एकाएक मर्न थालेपछि चापाकोट नगर पशु शाखाले शंकाको आधारमा बंगुरको पोष्टमार्टम गरी नमुना परिक्षणका लागि केन्द्रीय पशुपंक्षी रोग अन्बेषण प्रयोगशालामा पठाइएको थियो ।

केन्द्रीय प्रयोगशालाले बंगुरहरुमा ‘अफ्रिकन स्वाइन फिवर’ संक्रमण देखिएको नतिजा पठाएपछि चापाकोटमा यो रोग देखिएको हो । ‘अफ्रिकन स्वाइन फिवर’ देखिएपछि चापाकोट नगरपालिकाले थप संक्रमण फैलिन नदिन जैविक सुरक्षाका उपायहरु अवलम्बन गर्न र आन्तरिक ओसारपसारमा बिशेष ध्यान दिन बंगुर पालक किसानहरुलाई अनुरोध गरेको छ । गहतराजले भाले बंगुर बाहिरबाट ल्याएकै कारण यो संक्रमण भित्रिएको चापाकोट पशु शाखाका प्राविधिक सहायक समिक्षा रोकायले अनुमान गरेको बताएकी छन् ।

प्राविधिक सहायक रोकायका अनुसार कृषक गहतराजले संचालन गरेको फर्ममा ५ ओटा पोथी, एक भाले बंगुर र १७ ओटा साना बच्चा सबै ‘अफ्रिकन स्वाइन फिवर’ संक्रमणबाट मृत्यु भएको छ । कृषक गहतराजले स्याङ्जाकै गल्याङ्बाट भाले बंगुर ल्याएको खुलेको छ । यस बिषयमा भेटनरी तथा पशु सेवा विज्ञ केन्द्रबाट टोली आएपछि थप अनुसन्धान हुने प्राविधिक रोकायले बताइन् । यो संक्रमण बंगुरमा मात्रै देखिने र यो रोग लागेपछि कुनै उपचार नहुने पशु चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया