नदीजन्य उत्खनन्मा स्थानीय सरकार मौन, प्रहरीको सक्रियता
स्याङ्जा ।
स्थानीय सरकारलाई नदीजन्य पदार्थको उपयोग र संरक्षणको अधिकार कानुनले दिएको छ । मुलुक संघिय संरचनामा गएदेखी नदीजन्य पदार्थको सबैभन्दा बढी उत्खनन् स्थानीय सरकारले गरेका छन् । खोलानाला र नदीले बगाएर ल्याएको सामाग्रीलाई प्रयोग गर्ने अधिकार स्थानीय सरकारलाई भएपनि जथाभावी रुपमा खोलानदीमा डोजर प्रयोग गर्दा स्याङ्जाका अधिकांस खोलानाला संकटमा परेका छन् ।
संरक्षण र उपयोगको अधिकार पाएका स्याङ्जाका ११ ओटा पालिकाले खोलानाला संरक्षण भन्दा पनि राजस्व संकलनको नाममा जथाभावी उत्खनन् गरेको पाइएको छ । स्थानीय सरकारले जथाभावी डोजर प्रयोग गरेर खोलानदी उत्खनन् गरेपछि स्थानीयले संरक्षणका लागि प्रहरी गुहार्ने गरेका छन् । यसको उदाहरण पछिल्लो एकसातामा प्रहरीले अर्जुनचौपारी र बिरुवा गाउँपालिकाबाट डोजर, ट्रिपर र ट्याक्टर नियन्त्रणमा दिलएको घट्नाले देखाउछ ।
प्रहरीले गएको एकसातामा पुतलीबजार नगरपालिका, अर्जुनचौपारी र बिरुवा गाउँपालिकाबाट खोलामा कानुन विपरीत उत्खनन् र ओसारपसार गर्ने सवारी साधन नियन्त्रणमा लिएर कारवाहिका लागि स्थानीय तहमा नै बुझाइदिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एंव सूचना अधिकारी प्रशन्न चौधरीका अनुसार अर्जुनचौपारी गाउँपालिकाको ४ मा पर्ने दरौखोला उत्खखन्मा प्रयोग गरिएको जेसिवी र ट्याक्टर नियन्त्रणमा लिएको छ । ग १ क ३३११ नम्बरको जेसिवी र ग १ त ५०२० नम्वरको ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि पालिकालाई बुझाइएको सूचना अधिकारी डिएसपी चौधरीले बताए ।

त्यसैगरी प्रहरीले पुतलीबजार नगरपालिका १३ दरौखोलामा पक्की पूलको नजिकै ढुङ्गा माटो झिकेर लोड गरिरहेको अवस्थामा ग १ त ५२२७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर सम्वन्धित पालिकामा कारवाहीका लागि पठाएको जनाएको छ । यसैगरी बिरुवा गाउँपालिका ६ चिन्नेवासको ज्याग्दीखोलामा उत्खनन् र ओसारपसारमा प्रयोग गरिएका ग १ क ३११५ नम्बरको जेसिवी र ग १ क ५४९८, ग १ क ५४९९ नम्बरको ट्रिपर नियन्त्रणमा लिएर पालिकाकलाई आवश्यक कारवाहीका लागि पठाइएको जनाएको छ । सबै सवारी साधनहरु स्थानीयको सूचनाको आधारमा नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले सम्वन्धित पालिकाले जरिवाना गरेको रसिदको आधारमा मात्रै छाड्ने गरेको प्रहरी डिएसपी चौधरीले बताए । प्रहरी कानुनको पालना गर्ने र गराउने निकाय हो सूचना अधिकारी डिएसपी चौधरीले भने,‘हामीले कानुनको पालना गरेका हौं ।’ संरक्षक र नियन्त्रणका लागि स्थानीयको आग्रह अनुसार प्रहरीले काम गरेको हो चौधरीले भने । प्रहरीले नियन्त्रणमा लिइएका सवारी साधनले कति जरिवाना तिरे भन्ने बिषय भने सम्वन्धित पालिकासगँ नै रहने प्रहरीको भनाई छ ।
पछिल्लो समय राजस्व संकलनका नाममा खोला अत्याधिक दोहन हुनेक्रम बढेको छ । संरक्षणका लागि ध्यान नदिएका स्थानीय सरकारहरु राजस्व बढाउने नाममा खोलानाला जथाभावी उत्खनन् गर्ने क्रम बढेसगै प्राकृतिक धरोहरका रुपमा परिचित खालाहरु हराउने र सुक्ने क्रम बढेको छ । यसतर्फ सम्वन्धित निकायले बेलैमा सोच्न जरुरी छ ।


प्रतिक्रिया