सहुलिय कृषि कर्जाका लागि बैङ्कहरुसगँ सहजीकरण

स्याङजा ।
कृषक तथा उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि स्याङ्जामा रहेका बैंकहरुले सहजीकरण गर्ने भएका छन् । कृषकहरुले सहजरुपमा कृषि कर्जा नपाएको गुनासो गरे पछि बैङ्कहरुले सहजीकरण गर्ने र कर्जा उपलव्ध गराउने प्रतिबद्धता जनाएका हुन् । वालिङ र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकाका जनप्रतिनिधि तथा कृषकहरुसँगको छलफल पछि बैङ्कका प्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

वालिङमा भएको कार्यक्रममा गरिमा बिकास बैङ्कका क्षेत्रिय प्रमुख लेखनाथ भट्टराईले सहज रुपमा कर्जा पाउने तरिकाका बारेमा कृषकहरुमा जानकारी कम रहेको बताए । ऋण बारेको जानकारी अभाव भएका कारण कृषकलाई कुरा बुझाउनै नसकिएको भट्टराईले बताए । वित्तिय साक्षरता दिनका लागि पालिकाहरुसँग सहकार्य गर्ने उनको बताए । कृषि विकास बैङ्क वालिङका प्रमुख यमप्रसाद आचार्यले वास्तविक कृषकलाई ऋण प्रवाह गर्न आफूहरु प्रतिबद्ध रहेको बताए । बैङ्कको कुल लगानीको २५ प्रतिशत कर्जा कृषिमा लगानी गरिदै आएको उनको भनाई छ । नेपाल बैङ्क वालिङका प्रमुख दर्शना भट्टराईले ऋण एक शिर्षकमा लिने र खर्च अर्काे शिर्षकमा गर्ने क्रम बढेको बताइन् । ऋण लिएर कृषि कर्म गर्नहरुको लागि हामीले सहयोग गर्ने बताइन् ।

कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रे, गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने र कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले कृषकहरुका लागि सहुलियत कर्जा प्रदान गर्न पालिकाले सहकार्य गर्ने जानकारी गराएका थिए । सस्तो व्याज दर र बिना धितो थोरै कर्जाले ठूलो काम हुने भन्दै उनीहरुले बैङ्कहरुले सहयोग गर्नु पर्नेमा जोड दिए ।
वालिङका उपप्रमुख तिवारीले एनएमबी खेती कर्जा अन्तर्गत बिना धितो रु २ लाख सम्म कर्जा प्रवाह गर्न सुरु गरिएको जानकारी दिइन् । बिना धितो गाउँगाउँमा प्रवाह गरिने कर्जाले उत्पादन बढाउन सहयोग पुग्ने उनको भनाई छ ।

वालिङ र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकामा हेफर प्रोजेक्ट नेपालको सहकार्यमा सञ्चालन भईरहेका कृषि विकास परियोजनामा आवद्ध चार हजार ९९ कृषक परिवारलाई सहुलियत कर्जा प्रवाहका लागि छलफल गरिएको हेफर प्राजेक्ट नेपालका क्षेत्रिय प्रवन्धक प्रेम साम्वयुले जानकारी दिए । गाउँगाउँमा रहेका कृषकहरुलाई सहज रुपमा कृषि कर्जा उपलव्ध गराउने कार्यक्रमको योजना रहेको उनको भनाई छ । कार्यक्रममा बाणिज्य बैङ्क वालिङका प्रमुख लिला गुरुङ,मुक्तिनाथ विकास बैङ्क वालिङका प्रमुख नविन काफ्ले,लक्ष्मी बैङ्क वालिङका प्रमुख मणिप्रसाद बस्याल, एनएमबी खेती कर्जाका सुरज सुवेदी र सुरज गुरुङ, हेफर प्रोजेक्टका बरिष्ठ कार्यक्रम अधिकृत बिष्णु प्रसाद पाण्डे, वित्तिय अधिकृत नगेन्द्र भट्ट लगायतले सहज तथा सहुलियत कर्जा प्रवाह र परिचालनका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया