सामाजिक कार्यालयले खोज्यो बालबालिकाको सिर्जनात्मक क्षमता

क्रान्ति अर्याल,
गल्याङ ।
भविष्यका कर्णधार बालबालिकामा सिर्जनात्मक अभिव्यक्तिको विकास गराउने उद्देश्यले गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास कार्यालय, स्याङ्जाको आयोजनामा स्याङ्जाका १० स्थानीय तहमा सिर्जनात्मक लेखन प्रतियोगिता सम्पन्न भएको छ । अब पुतलीबजारमा सम्पन्न भएपछि जिल्लास्तरीय प्रतियोगिता हुने छ ।

गल्याङ नगरपालिकामा आयोजित प्रतियोगिता “गण्डकी प्रदेशमा पर्यटनको सम्भावना, समस्या र चुनौती” शीर्षकमा केन्द्रित थियो । यस प्रतियोगितामा जानकी माविकी छात्रा तारा सारुले प्रथम स्थान हासिल गर्दै जिल्ला स्तरीय प्रतिस्पर्धाका लागि छनोट भएकी छन् । त्यस्तै भानुभक्त माविका प्राञ्जल भण्डारी दोस्रो र चिराग आवासीय माविकी रन्जु मस्राङ्गी तेस्रो स्थानमा रहेका छन् भने सार्वजनिक माविकी माण्डकी बस्यालले सान्त्वना स्थान हासिल गरेकी छन् ।

यो प्रतियोगिता स्याङ्जाका वालिङ, चापाकोट, भीरकोट, गल्याङ नगरपालिका सहित बिरुवा, अर्जुनचौपारी, आँधीखोला, हरिनाश, फेँदिखोला र कालीगण्डकी गाउँपालिकामा सम्पन्न भइसकेको छ । सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलका अनुसार पालिकाबाट छनोट भएका उत्कृष्ट तीन प्रतिस्पर्धीहरू सहित ३३ जना विद्यार्थीहरूले जिल्लास्तरीय प्रतियोगितामा भाग लिने छन् ।

जिल्लास्तरीय प्रतियोगिता यही जेठ २२ गते आयोजना हुने भएको छ । बालबालिकाको सिर्जनात्मक क्षमताको पहिचान गर्दै भविष्यमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिइने आयोजकले जनाएको छ । यो प्रतियोगिताले बालवालिकाको रुची समेत छनोट गर्ने भएकाले उनीहरुको भविष्य निर्माणका लागि एउटा आधारशिला हुने भएकाले सामाजिक विकास कार्यालय स्याङ्जाले यो कार्यक्रम आयोजना गरेको हो ।

 

 

 

प्रतिक्रिया