स्याङ्जामा ८ जना फरार कसुरदार पक्राउ
स्याङ्जा ।
जिल्ला अदालत स्याङ्जाले विभिन्न मुद्धामा कैद सजाय र जरिवाना तोकिएका फरार कसुरदारहरु धमाधम पक्राउ पर्न थालेका छन् । विभिन्न मुद्धामा अदालतले गरेको फैसला अनुसार कैद सजाय भुक्तान गर्नुपर्ने र तोकिएको जरिवाना बुझाउनु पर्नेमा फरार भएर कानुनको उल्लघंन गरी फरार भएका अभियुक्तहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकैदिन ८ जना फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्धामा फैसला भई कैद सजाय सुनाइएका आठ जनालाई पक्राउ गरेको छ । जिल्ला अदालत स्याङ्जाबाट कैद सजाय र जरिवाना भुक्तान गर्नुपर्ने फैसला सुनाइएका ८ जनालाई प्रहरीको गस्ती टोलीले फक्राउ गरेको जनाएको छ । बैकिङ् कसुर र कुटपिट मुद्धामा सजाय तोकिएका अभियुक्तहरुलाई प्रहरीले चलाएको गस्तीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
प्रहरीले दिएको जानकारी अनुसार ४ जना बैकिङ कसुरदार, ३ जना चेक अनादर र १ जना कुटपिट मुद्धाका अभियुक्त रहेका छन् । बैकिङ कसुरमा २३ दिन कैद सजाय र ८० लाख जरिवाना तोकिएका भिमबहादुर विश्वकर्मा, ७९ लाख ८८ हजार जरिवाना तोकिएका कमला केसी, १ दिन कैद सहित १ लाख जरिवाना तोकिएका बत्ती विक र १६ हजार ७ सय ५० रुपैयाँ जरिवाना तोकिएका शिवलाल लम्साल पक्राउ परेका छन् ।
यसैगरी चेक अनादरमा २ हजार जरिवानामा झवनाथ भण्डारी, ५ सय २८ जरिवाना तोकिएका गंगामाया गुरुङ्सेनी र १ हजार जरिवाना तोकिएका अमरराज गुरुङ् पक्राउ परेका हुन् । कुटपिट सम्वन्धी मुद्धामा अदालतले १ सय १० रुपैयाँ जरिवाना तोकिएका ढालबहादुर सुनार पनि प्रहरीको पक्राउनमा परेका छन् । पक्राउ परेका अभियुक्तबाट १ करोड ६१ लाख ८ हजार ४२ रुपैयाँ जरिवाना र जम्मा २४ दिनको कैद सजाय भुक्तान गर्नुपर्ने छ ।
अदालतबाट भएको फैसला कार्यन्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाई न्यायीक कारवाहीलाई पुर्णता दिई, सुरिक्षत र न्यायपुर्ण समाज निर्माणको सुनिश्चितताको लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष अप्रेसन टोलीले पक्राउ गरेको प्रहरी प्रमुख न्यौपानेले बताए । प्रहरीले लामो दुरीको ग्रामीण गस्ती संचालन गरी शान्ति सुरक्षा, अपराधका बिषयमा छालफल गरी घरेलु हिंसा, बाढी पहिरो, चोरी लगायतका बिषयमा प्रहरीले गाउँ—गाउँमा कार्यक्रम संचालन गर्दै आएको छ । जसले गर्दा नागरिकहरुमा हामी सुरक्षित छौं भन्ने आभास आफुले पाएको प्रहरी प्रमुख न्यौपानेले बताए । सिमित साधन श्रोत र दरबन्दी अनुसारको प्रहरी कर्मचारी नहुँदा पनि स्याङ्जामा पछिल्लो समय प्रहरीले ग्रामीण क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।


प्रतिक्रिया