ग्रामिण क्षेत्रका विद्यालयमा सहयोगी बन्दै गरिमा बैंक

श्रीकृष्ण सिग्देल,
स्याङ्जा ।
सामाजिक उत्तरदायीत्वलाई पच्छ्याउदै आएको गरिमा विकास बैंक सहयोगी बनेर विद्यालयमा पुगेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाग्रीहरु बोकेर स्याङ्जाका विभिन्न शैक्षिक क्षेत्रमा पुगेको हो । यो आर्थिक बर्षमा बैंकले भुमिका निर्वाह गर्नुपर्ने दायित्वलाई अगालेर जिल्लाका शैक्षिक क्षेत्रमा पुगेर सहयोगी बनेको जनाएको छ ।
स्याङ्जाको वालिङ ६ फुलवारीमा रहेको गणेश आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय पोशाक र शैक्षिक सामाग्री वितरण गरेको छ । वालिङ मिर्दीमा रहेको गरिमाको शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको क्षेत्रिय प्रमुख लेखनाथ भट्टराईले बताए । कक्षा ५ सम्म अध्ययनरत २५ जना विद्यार्थीलाई बैंकले ट्रयाकसुट तथा कापी कलम उपलब्ध गराएको छ ।
त्यसैगरी बैंकको वालिङ शाखाले वालिङ ११ गब्देमा रहेको बालशिक्षा निकेतन आधारभुत विद्यालयमा विद्यार्थीलाई पोशाक वितरण, वालिङ युनाइटेड क्लवलाई आर्थिक सहयोग र वालिङ १० भकुण्डे स्थित सिद्धार्थ राजमार्गमा जेष्ठ नागरिक प्रतिक्षालय निर्माण गरी सहयोग गरेको वालिङ शाखाका प्रवन्धक प्रेम अर्यालले बताए । बैंकको गल्याङ शाखाले गल्याङ नगरपालिका १ स्थित राम्दी गुरुकुल आश्रम विद्यालयमा स्टिल दराज, ज्ञानेश्वर आधारभुत विद्यालय, चण्डीका आधारभुत विद्यालयमा विद्यार्थीलाई पोशाक र बमभञ्याङ् आधारभुत विद्यालयलमा ल्यापटप, महेन्द्र आधारभुत विद्यालयमा खानेपानीको फिल्टर सहयोग गरेको क्षेत्रीय प्रवन्धक भट्टराईले बताए ।
चापाकोट शाखाले चापाकोट क्याम्पसमा सरस्वती मन्दिर निर्माण, मिर्दी शाखाले राष्ट्रिय माविमा खानेपानीको फिल्टर र स्याङ्जा शाखाले पाणीनी आश्रममा टिभी वितरण गरेर सहयोगी भुमिका खेलेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स–साना बालबालिकालाई पोशाक, खानेपानीका फिल्टर सहित विद्युतीय उपकरणहरु वितरण गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत माधव आचार्यले जानकारी दिए । स्याङ्जामा मात्रै नभएर देशभर गरिमा बैंक पुगेका स्थानहरुमा सामाजिक उत्तरदायित्व अन्तगर्त विभिन्न सहयोग गर्दै आएको सिइओ आचार्यको भनाई छ । आगामी दिनमा पनि बंैकले आवश्यकता हेरी थप सहयोगका कार्यक्रमहरुलाई निरन्तरता दिंदै जाने उनले बताए ।
विद्यालयको शैक्षिक गुणस्तर वृद्धिकालागि बैंकले गरेको सहयोगले थप मद्त पुग्ने वालिङ ६ का वडा सदस्य नन्दु अर्यालले बताए । विद्यालयको समग्र विकासका लागि सरोकारवालाहरु एकमत भएर अगाडि बढ्न सकेमा शैक्षिक गुणस्तरमा सुधार हुने वडा सदस्य अर्यालको भनाई छ । शहरीया बजारका विद्यालयमा भन्दा ग्रामिण क्षेत्रका विद्यालयमा बैंकहरुले गरेको सहयोग अतुलनीय हुने गणेश आधारभुत विद्यालयमा प्रधानाध्यापक नरबहादुर पौडेलले बताए । विद्यालय सबैको साझा शैक्षिक चौतारी भएकाले बैंकहरुको सहयोग ग्रामिण क्षेत्रका विद्यालयमा पुग्नुपर्ने सुझाव उनको छ ।
स्याङ्जाको वालिङमा झण्डै १८ बर्ष अगाडी प्रधान कार्यालय स्थापना गरी संचालनमा आएको गरिमा विकास बैंक अहिले राष्ट्रिय स्तरको बैंक हुन पुगेको छ । देशभर १२५ शाखा, १ एक्सटेन्सन कार्यालय, ५० भन्दा बढी एटिएम मेसिन मार्फत झण्डै १० लाख ग्राहकलाई बैङ्कि प्रवाहमा जोडेर सेवाप्रवाह गर्दै आएको छ ।
प्रतिक्रिया