पुतलीबजारको बजेट १ अरब ४ करोड
स्याङ्जा ।
पुतलीबजार नगरपालिकाको १७ औं नगर सभा शनिबारदेखि सुरु भएको छ । पुतलीबजार नगरपालिका १ स्थित सिटीहलमा आयोजित सभामा नगरप्रमुख तुलसीराम रेग्मीले प्रस्तावित नीति तथा कार्यक्रम र उपप्रमुख देवी अर्यालले आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्वजनिक गरेका छन् । नगर सभामा नगर प्रमुख रेग्मीले संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ इतिहासका विभिन्न समयमा भएका प्रजातान्त्रिक आन्दोलनमा आफ्नो अमूल्य जीवन अपर्ण गर्ने र सहयोग गर्नुहुने तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरे ।
शिक्षा, स्वास्थ्य र पूर्वाधार समुन्नत पुतलीबजारको आधार भन्ने नाराका साथ नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन २०७४ र अन्य प्रचलित कानूनले दिएको अधिकार क्षेत्रभित्र रही संघियताको कार्यान्वयन, स्थानीय उत्पादन, रोजगारी सृजना, सुशासन र पारदर्शितामा जोड दिदै नागरिकमैत्री शासन प्रणालीको स्थापना मुख्य प्राथमिकतामा रहेको नगर प्रमुख रेग्मीले बताए । शिक्षालाई पहिलो प्राथमिकतामा राखी ५ बर्षे शैक्षिक रणनीति सहित नगर शिक्षा योजना तयार गर्ने, कक्षा ५ सम्मका बालबालिकालाई छात्रवृत्ति सहित निशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने, एक वडा एक खेलमैदान, १४ वटै वडा केन्द्रमा ब्यवस्थित भलिबल खेलमैदान, कक्षा १२ को परिक्षा दिएकालाई लोकसेवा तथा क्यारिअर काउन्सिलिङ र सूचना प्रविधि सम्बन्धि तालिम, योग, ध्यान, व्ययाम, आयुर्वेदिक उपचार, स्वास्थ्य स्वयंसेविका, सरसफाईकर्मी, कुमाल, बोटे, माझी, गन्धर्व, वादी तथा अपांगता भएका ब्यक्तिलाई निशुल्क स्वास्थ्य विमा, जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य जाँच सहित औषधी वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यसैगरी, उपप्रमुखसंँग सुत्केरी आमा पोषिलो खाना, उपप्रमुखसंँग महिला, ९० दिन ९० अण्डा र साकाहारीका लागि सोही रकम बराबरको दुध तथा घीउ, क्षयरोग मुक्त पालिका घोषणा, मृगौला रोगीलाई निशुल्क डायलायसिस सेवा, स्वास्थ्य संस्थाबाट गुणस्तरीय ल्याब सेवा, अपांगता भएका ब्यक्तिले संचालन गरेका उद्योग दर्ता तथा नविकरण सहित सिफारिसमा शुल्क नलिने, विभिन्न सिपमूलक, आयआर्जनमूलक, कृषि, पशुपालन सहित वाद्यवादन, महिला, बालबालिका, किशोरी लक्षित जनचेतनामूलक प्रशिक्षण तथा तालिम प्रदान गरिने निती छ । सार्वजनिक पर्यटकीय स्थल, ऐतिहासिक मठ मन्दिर, पाटीपौवा, प्रतिक्षालय, विभिन्न धार्मिक विद्यालय तथा स्थानहरु, खानेपानी तथा शौचालय निर्माणमा प्राथमिकता, एकिकृत खानेपानी आयोजना, कृषि उत्पादनमा जोड, बाझो जग्गामा खेती गर्नेलाई प्रति रोपनी २ सय नगद अनुदान, माटो परिक्षण, किसानसंँग नगरप्रमुख, विपन्न, गरिब, सामाजिक रुपमा पिछडीएका साना किसानको आय आर्जनमा सहयोग पुर्याउन कुखुराका चल्ला बितरण कार्यक्रम, पशु स्वास्थ्य, दुधमा आत्मनिर्भर बनाउन नश्लसुधार, कृत्रिम गर्भाधान, भैसी पकेट कार्यक्रम, रोजगार तथा उद्यम गर्न चाहनेका लागि नयाँ स्वरोजगार सृजना सहित प्रोत्साहित गर्ने ब्यवस्था, सहकारी शिक्षा, निष्कृय सहकारीलाई लिक्डिेशन तथा मर्जरको ब्यवस्था, आन्तरिक स्रोत परिचालन, बेरुजु सम्परिक्षण, कर्मचारी तथा जनप्रतिनिधिका क्षमता तथा दक्षता अभिवृद्धिसंगै सूचना तथा प्रबिधिको पहुँचमा ल्याईने, टुक्रे योजना निरुत्साहित, घरधुरी सर्वेक्षण, पुरातत्व झल्किने चुनासुर्खि, इट्टा, साल, तामाका छानाको प्रयोगमा जोड, एक घर एक फलफूल बिरुवा, एक वडा एक पोखरी, एक वडा एक हरियाली पार्क निर्माणमा जोड दिइने लगायतका अघिल्ला बर्षका नीति तथा कार्यक्रमहरुलाई निरन्तरता दिईनेगरि झण्डै २ सय बुँदे नीति तथा कार्यक्रम तय भएको छ ।
यसैगरी, उपप्रमुख देवी अर्यालले आर्थिक बर्ष २०८२÷८३ का लागि १ अरब ३ करोड ९६ लाखको बजेट प्रस्ताव गरेकी छन् । उनले चालुतर्फ ६४ करोड ८ लाख र पुजीगततर्फ ३९ करोड ८८ लाखको बजेट प्रस्ताव गरेकी हुन् । यसैगरी, सोही सभामा विद्यालय समिति संयोजक मुबारक मियाले आर्थिक विधेयक लगायत थप ३ वटा विधेयक, लेखा समिति संयोजक सन्तोष रेग्मीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत नीति तथा कार्यक्रमका बिषयमा नगर तथा वडा सदस्यहरु बिष्णुप्रसाद श्रेष्ठ, मुबारक मिया, कमलबहादुर रोका, सीता भुजेल, लीलबहादुर राना, सूर्यबहादुर रोका, शोभा बिक, सम्झना कुवर लगायतले योजना थपको माग सहित राय सुझाव दिएका थिए । बजेट लगायतका अन्य कार्यक्रम सहित २१ गते पुनः बैठक बस्नेगरि शनिबारको बैठक सम्पन्न भएको सभाध्यक्ष एवं नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी गराए ।


प्रतिक्रिया