भीरकोटमा एआई प्रयोग सम्बन्धी तालिम

भीरकोट ।

भीरकोट जेसिजको आयोजनामा बयरघारीमा एआई तथा सूचना प्रविधी तालिम सम्पन्न भएको छ । भीरकोट नगरपालिका, अर्जुनचौपरी गाउँपालिका, युथ फर अर्जुनचौपारी र वाइफाइ नेपालको सहयोगमा २ दिने तालिम सम्पन्न भएको हो । कार्यक्रमको समापन समारोहमा बोल्दै भीरकोटका निवर्तमान नगर प्रमुख छायाराम खनालले सबै क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग सम्बन्धि ज्ञान हुन जरुरी रहेको बताए । उनले एआई एप्लिकेसनको प्रयोग नेपालमा भर्खरै भएकाले यसबारेमा धेरैलाई सुसूचित गर्न आवश्यक रहेको बताए । एआईको प्रयोग विश्वभरि बढ्दो मात्रामा भइरहेको भए पनि नेपालमा शुभारम्भ मात्र भएको उनको भनाइ छ ।

भीरकोट जेसिजका अध्यक्ष शिवप्रसाद खनालले शिक्षक, कर्मचारीहरूले सूचना प्रविधिको सदुपयोग गरी समाजको रूपान्तरणमा सकारात्मक भूमिका खेल्नुपर्ने बताए । सार्वजनिक सेवा प्रवाह र शैक्षिक गुणस्तरमा सुधार ल्याउन कर्मचारी र शिक्षकलाई लक्षित गरेर एआई र सूचना प्रविधी सम्बन्धि तालिम संचालन गरिएको खनालको भनाई छ । तालिममा भीरकोट, गल्याङ र अर्जुनचौपारीका शिक्षक, कर्मचारी गरी ८० जनाको सहभागिता रहेको थियो । तालिममा सहभागीहरूलाई सुजन अधिकारी र कौशल पाण्डेले प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष नुवदत्त अर्याल, वडा नं ७ का अध्यक्ष तारा प्रसाद अर्याल, भाग्योदय माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशमलाल खनाल, लायन्स क्लब अफ भीरकोटका सचिव इन्दिरा केसी लगायतले एआई र सूचना प्रविधिको महत्वको बारेमा बोलेका थिए ।

प्रतिक्रिया