झोलुङ्गे पूललाई व्यवसायिकतामा जोडौं :- नगरप्रमुख रेग्मी

स्याङ्जा ।
पुतलीबजार नगरपालिका ८ स्थित सुन्दरखोलामा निर्माण गरिएको झोलुङ्गे पूलको शुभारम्भ गरिएको छ । पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले उक्त झोलुङ्गे पूलको एक कार्यक्रमका बिच शुभारम्भ गरेका हुन् । पुतलीबजार नगरपालिकाको आर्थिक सहयोग अन्धाअन्धी सामुदायिक बिकास केन्द्रको प्राबिधिक र सामाजिक सहयोगमा उपभोक्ता समिति मार्फत झोलुङ्गे पूल निर्माण गरिएको थियो । झोलुङ्गे पूलको समुदघाटन गर्दै नगरप्रमुख रेग्मीले नगरपालिका भित्र सडक, पूल लगायत पूर्वाधार विकासमा कुनै कसुर बाँकी नराख्नेगरी काम गरिरहको बताए ।

खोलाका कारण आवतजावतमा कठिनाई भएमा सकेसम्म पक्की पूल मार्फत नभए झोलुङ्गे पूल मार्फत सहज बनाउनेमा हाम्रो ध्यान केन्द्रित भइरहेको नगर प्रमुख रेग्मीले बताए । समयमै झोलुङ्गे पूल निर्माण सम्पन्न भएको छ नगर प्रमुख रेग्मीले भने,‘अव यो पूललाई यात्राको लागि मात्रै नभएर बजारीकरणमा प्रयोग गर्नुपर्छ ।’ गाउँमा उत्पादन भएका कृषि उपजहरुलाई बजार सम्म झोलुङ्गे पूलको सहारामा आयआर्जनमा जोडिनुहोला नगरप्रमुखले भने । झोलुङ्गे पूल निर्माण सम्पन्न भएपछि सदरमुकाम सम्म आउजाउ गर्न यहाँका नागरिकलाई सहज भएको नगरप्रमुख रेग्मीले बताए ।

झोलुङ्गे पूलको समुदघाटन कार्यक्रममा नगरउपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना, वडा अध्यक्ष इमबहादुर सेन, कार्यपालिका सदस्य सन्जिता नेपाल अर्याल, योजना विभाग प्रमुख डोलराज ढुङ्गाना, वडा सदस्य रवि सेन, टोलमाया थापा, गंगा नेपाली लगायतका बक्ताहरुले पूल नहुँदा समस्यामा रहेका यहाँका वासिन्दालाई झोलुङ्गे पूल निर्माण भएपछि सहजता मिलेको बताएका थिए ।

निर्माण उपभोक्त समितिका अध्यक्ष नेत्रबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको अन्धाअन्धी सामुदायिक विकास केन्द्रका एकनारायण सापकोटाले संचालन गरेका थिए । झण्डै ७५ मिटर लम्वाई रहेको पूल निर्माणका लागि पुतलीबजार नगरपालिकाले ५ लाख ६३ हजार ५ सय ४६, समुदायको श्रमदानबाट ८६ हजार ६ सय ९९, क्षेत्रगत झोलुङ्गे पूल कार्यक्रमबाट ३३ लाख ९८ हजार ७ सय ९० र सहयोग सामाग्रीबाट २ लाख ८५ हजार ९ सय ३७ रुपैयाँगरी ४३ लाख ३४ हजार ९ सय ७३ रुपैयाँको लागतमा निर्माण गरिएको हो । २०८१ पुष ४ मा सम्झौता गरिएको पूल २०८२ असार १५ गतेसम्पन्न गर्नेगरी उपभोक्त समितिले सम्झौता गरेका थिए । पूल सम्पन्न गरेको उपभोक्त समिति भङ्ग गरी गौतम सिंह ठकुरीको संयोजकत्वमा मर्मत सम्भार समिति गठन गरिएको नगरप्रमुखका स्वकिय सचिव खेमकान्त अर्यालले जानकारी दिए ।

प्रतिक्रिया