सिवाईसीका अध्यक्ष र सिइओलाई राष्ट्रबैंकमा उजुरी

स्याङ्जा ।
कास्की जिल्लाको पोखरा महानगरपालिका ८ सभागृहचोकमा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्थाका अध्यक्ष सहित संचालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई संस्थाका लगानीकर्ताले नेपाल राष्ट्र बैंकमा उजुरी दिएका छन् । लघुवित्त संस्थामा आन्तरिक भष्ट्रचार र बेथिति गरेको आरोप लगाउदै संस्थाका लगानीकर्ताहरुले अध्यक्ष सहित प्रमुख कार्यकारी अधिकृतलाई कारवाहीको माग गर्दै उजुरी दर्ता गरेका हुन् । संस्थाका अध्यक्ष पद्मानाथ शर्मा सहित संचालक समिति र सिइओ डोलिन्द्र प्रसाद शर्मा बिरुद्ध आर्थिक भष्ट्रचार गरेको आरोपमा राष्ट्र बैंकमा कारवाहीको माग गर्दै उजुरी दर्ता गरिएको हो ।

देशका ७७ जिल्लामा १२४ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त कार्यक्रम संचालन गरिरहेको सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्थामा आन्तरिक भष्ट्रचार भएको बिषयमा संचालक समितिका अध्यक्ष मार्फत संचालक समितिमा उजुरी तथा निवेदन दिदा समेत सुनवाई नभएपछि संस्थापक लगानीकर्ताहरुले आवश्यक छानविन तथा कारवाहीकोे माग गर्दै नियामक निकाय रहेको नेपाल राष्ट्र वैंकमा उजुरी दर्ता गरेको केदार काफ्लेले जानकारी दिए ।

म्याग्दी जिल्लामा केन्द्रिय कार्यालय रहेको शालिग्राम लघुवित्त वित्तिय संस्था लि. र स्याङ्जा भीरकोटमा केन्द्रिय कार्यालय रहेको आँधिखोला लघुवित्त वित्तिय संस्था विच झण्डै ३ बर्ष अगाडी मर्जर भई सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था नामाकरण गरिएको थियो । हाल सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था मार्फत देशभर आर्थिक कार्यक्रम संचालन गरिरहेको छ । अध्यक्ष पधमनाथ शर्मा तथा प्रमुख कार्यकारी अधिकृत डोलिन्द्र प्रसाद शर्माको नातावाद, कृपावादका कारण यस संस्थाका संस्थापक लगानीकर्ता र कर्मचारीहरु मारमा परेको संस्थापक लगानीकर्ता काफ्लेले बताए । संस्थामा बेथिती बढ्न थालेको थाहा पाएपछि पटक—पटक यस बिषयमा छानविन गर्न संचालक समितिमा निवेदन दियौं संस्थापक शेयर सदस्य काफ्लेले भने,‘हामीले दिएको निवेदनमा संचालक समिति र सिइओले सुनुवाई नगरेपछि राष्ट्र बैंकमा पुगेका छौं ।’ बैंकहरुको नियामक निकाय राष्ट्र वैंक रहेकाले हामी लगानीकर्ताको सुनुवाई हुनेछ भनेर छानविन र कावारहीको माग राखेर उजुरी दर्ता गरेका छौं उनले भने ।

संस्थामा प्रमुख कार्यकारी अधिकृत डोलिन्द्र प्रसाद शर्माले आर्थिक अनियमिमता, भ्रष्ट्रचार गरेको बिषयमा राष्ट्र बैंकमा पटक—पटक उजुरी दर्ता गरपनि राष्ट्रबैंकको लघुवित्त सुपरिवेक्षण विभागको तत्कालिन नेतृत्व बचाउमा लागेको आरोप लगानीकर्ताको छ । नयाँ गर्भनर नियुक्ति भएसगै पुन उजुरी दर्ता गरेको उनीहरुले बताए । तत्कालिन नेतृत्वले राजनीतिक आडमा संस्थाका लगानीकर्ताले दर्ता गरेको उजुरी माथी सुनुवाई नभएपछि नयाँ गर्भनरबाट न्याय हुने आशामा रहेको उनीहरुले बताएका छन् । नयाँ नेतृत्वबाट पनि सुनुवाई नभएमा लगानीकर्ताहरुले जुनसुकै मुल्य चुकाएर भएपनि संस्थाको लगानी बचाउन लाग्ने चेतावनी उनीहरुको छ ।

यता संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई फोन सम्पर्क गर्न खोज्दा मोवाईल अफ रहेकाले सम्पर्क हुन सकेन । संस्थाका अध्यक्ष पद्मानाथ शर्माले भने संस्थामा कुनै भष्ट्रचार र अनियमितता नभएको दावी गरेका छन् । बार्षिक नीति तथा कार्यक्रमलाई साधरणसभाले पास गरेर सोही नीति अनुसार संस्थाले खर्च गरेको जिकिर अध्यक्ष शर्माको छ । लगानीकर्ताले आफ्नो लगानी डुब्ने डर देखेपछि नियामक निकायसमक्ष पुगेर उजुरी दर्ता गर्दा समेत सुनुवाई नहुनुले संस्थामा केही समस्या रहेको हुनसक्ने आशंका विज्ञहरुको छ । यस बिषयमा राष्ट्रबैंकले समेत चासो दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया