हाते ट्याक्टर अनुदानमा पाउने भएपछि भीरकोटका किसान हर्षित

भीरकोट ।
स्याङ्जाको भीरकोट नगरपालिकाका किसानहरूले हाते ट्याक्टर खरिदमा १८ हजार अनुदान पाउने भएका छन् । ९ वटा वडाका ४५ जना कृषकले उक्त अनुदान पाउने नगर प्रवक्ता दीपेन्द्र केसीले जानकारी दिए । उनले जुनसुकै मूल्य र गुणस्तरको ट्याक्टर खरिद गरेपनि किसानले १८ हजार अनुदान पाउने बताए । प्राविधिक कारणवश पालिकाले टेन्डर प्रक्रियाबाट हाते ट्याक्टर खरिद गर्न नसकेपछि किसानले नै ट्याक्टर खरिद गरेका हुन् । हाते ट्याक्टर प्राप्तिका लागि कूल १ सय ७७ वटा आवेदन परेकोमा हरेक वडाले ५ जना लाभग्राही छनोट गरेका थिए । वडाले छनोट गर्दा हरेक टोलमा १ जना पर्ने गरि र विगतमा अनुदान पाएका कृषक नदोहिरिने गरि गरेको नगर कृषि शाखा प्रमुख श्रवण कुमार विष्टले जानकारी दिए । हाते ट्याक्टरमा अनुदानका लागि कूल ९ लाख रूपैयाँ छुट्याइएकाले बजेटको सिमितताका कारण ४५ जना कृषकलाई मात्रै अनुदान दिन लागिएको कृषि शाखाले जनाएको छ ।
पेट्रोल इन्जिन भएको ट्याक्टर सस्तो र हलुङ्गो हुने भएकाले किसानहरूले पेट्रोल इन्जिन भएको ७ एचपीको ट्याक्टर खरिद गरेका छन् । किसानहरूले ३६ हजार मूल्यमा खरिद गरेपछि अनुदानका लागि पालिकामा पेश गर्ने वडा नं ६ का अध्यक्ष लक्ष्मण खत्री क्षेत्रीले जानकारी दिए । किसानहरूले व्यक्तिगत रूपमा खरिद गर्दा यातायात र ढुवानीमा समेत समस्या हुने र खरिद मूल्य महङ्गो हुने भएकाले स्थानीय व्यवसायी प्रदिप थापाले आफ्नो पसल स्मार्ट कृषि मेसिनरी मार्फत् किसानहरूलाई बयरघारीबाटै ट्याक्टर खरिद गर्ने व्यवस्था मिलाइदिएको कृषि शाखा प्रमुख विष्टले जानकारी दिए । यद्यपि वडा नं ४ र ७ का कृषकहरूलाई वडा कार्यालयले नै सहजीकरण गरिदिने बुझिएको छ । बुधबार सांकेतिक रूपमा कृषकहरूलाई हाते ट्याक्टर वितरण गर्दै भीरकोट नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले कृषिको आधुनिकीकरण गर्न र उत्पादन लागत घटाउन नगरपालिकाले ट्याक्टर खरिदमा पचास प्रतिशत अनुदान दिइएको बताए ।
प्रतिक्रिया