स्याङ्जामा लापसे सेवनगरी सवारी चलाउने चालक नियन्त्रणमा
वालिङ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले गरेको सडक चेकिङ्मा दुईजना चालक नियन्त्रणमा परेका छन् । प्रहरीले सिद्धार्थ राजमार्गमा चल्ने सवारी साधनका चालकहरुको लागुपदार्थ सेवन चेकजाँच गर्दा दुईजना नियन्त्रणमा परेका हुन् । सडक दुर्घटना न्यूनीकरण एवं यात्रालाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले शुरु गरेको लापसे चेकिङ्क अभियान अन्तर्गत दुईजनाले लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि नियन्त्रणमा लिएको हो ।
चेकजाँचका क्रममा अर्जुनचौपारी गाउँपालिका ५ काउरेका २३ बर्षिय गोविन्द बहादुर सुनार र आँधीखोला गाउँपालिका ६ सेतिदोभानका २६ बर्षिय विशाल दर्जी नियन्त्रणमा परेका हुन् । सुनार ग १ ज ६८२७ नम्वरको बलेरो जीप चालक हुन् भने दर्जी ग १ त ५१३० नम्वरको ट्याक्टर चालक हुन् । दुवैजनालाई नियन्त्रणमा लिएर जिल्ला प्रशासनबाट ७ दिनको म्याद थपगरी कानुनी कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रसन्न राज चौधरीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जेठबाट राजमार्ग र ग्रामिण सडकमा चल्ने सवारी साधनका चालक र सहचालकको लापसे चेकजाँच गर्दै आएको छ । बढ्दो सवारी दुर्घट्नालाई न्यूनिकरण गर्न प्रहरीले यो अभियान चलाउदै आएको छ ।


प्रतिक्रिया