घरघरमा पानीको धारा
भीरकोट ।
बानेथोक भञ्ज्याङकी मुमु कुमारी दमै ५९ वर्षकी भईन्। उनको जिन्दगी नै पानी बोकेर गयो। १ छोरा र ५ छोरीकी आमा उनलाई पानी बोक्नुपर्ने बाध्यताले छोराछोरी कमाउने हुने बेलासम्म छोडेन। तर अहिले उनका दुखका दिन गए। पानी बोक्न खोल्सा खोल्सी र कुवा खोज्दै हिड्नुपर्ने बाध्यता सानो खोल्सा लिफ्टिङ खानेपानी योजनाले अन्त्य गरिदिएको छ। अहिले घर घरमा मिटरसहित धारा जडान भएपछि उनी एकदमै खुशी छन्। ४७ वर्षीय स्थानीय सिता दमै पानी बोक्ने दुखका दिन सम्झदै भन्छिन, पहिले एकदमै गाह्रो थियो। डोकोमा पानी बोकेर एक घण्टा सम्म पैदल हिड्नुपर्थ्यो। तर अब आँगनमै पानी थाप्न पाइएको छ।
अहिले मुमु कुमारी र सीता जस्तै १ सय ५० घरका करिब ५ सय जना खुशी भएका छन्। भीरकोट नगरपालिका, गण्डकी प्रदेश सरकार र जनश्रमदानबाट सानो खोल्सा लिफ्टिङ खानेपानी योजना सम्पन्न भएपछि गाउँका करिब १ सय ५० घरधुरीमा खानेपानीको सुविधा पुगेको छ। सबैलाई समानुपातिक तरिकाले पानी वितरण गर्न ५ वटा टंकी निर्माण गरिएको छ। ३ वटा १५ हजार लिटर, एउटा २५ हजार लिटर र अर्काे ३० हजार लिटर क्षमताका पानी टंकी निर्माण भएका छन्। भीरकोट नगरपालिका वडा नं ३ का वडा सदस्य गुमानध्वज रानाले खानेपानी योजना सम्पन्न हुन ७ वर्ष लागेको बताए। उनका अनुसार बानेथोक भञ्जाङमा अधिकांश दलित जातजातिका मानिसहरू बस्छन्। योजनाबाट सबैभन्दा बढी लाभान्वित उनीहरू नै भएका छन्।
२ सय मिटर भर्टीकल र ७ सय ५० मिटर होरिजेन्टल उचाइमा सानो खोल्सा मुहानबाट पानी लिफ्टिङ गरेर गाउँमा वितरण गरिएको स्थानीय एवं कालिका आधारभूत विद्यालयका शिक्षक केश प्रसाद सार्कीले जानकारी दिए। नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले सानोखोल्सा लिफ्टिङ आयोजना नगरको गौरवको आयोजना भएकाले नगरले प्राथमिकताका साथ बजेट विनियोजन गरेको बताए। आर्थिक र प्राविधिक कारणले केही ढिला भएको भएपनि स्थानीयको खानेपानी समस्या समाधान गर्न आफुहरु सफल भएको कर्माचार्यको भनाई छ ।
भीरकोट नगरपालिकाका योजना अधिकृत याम प्रसाद रेग्मीले २०७५ सालमा सुरू भएको योजनामा भीरकोट नगरपालिकाको मात्रै करिब १ करोड लगानी भएको बताए। उनले नगरको गौरवको आयोजना भएकाले ७ वर्षसम्म निरन्तर बजेट विनियोजन गरिएको जानकारी दिए। वडा नं ३ का अध्यक्ष केशर बहादुर खड्काले योजना सम्पन्न गर्न नगर, वडा , प्रदेश र जनश्रमदान गरि करिब २ करोड लगानी भएको बताए। निर्वतमान नगर प्रमुख छायाराम खनालले २०७५ सालमा सुरू गरेको योजना २०८२ सालमा सम्पन्न भएको हो। जिल्ला खानेपानी कार्यालयले ६ करोड ७० लाख बजेट लाग्ने अनुमान गरेको योजना स्थानीय सरकारले करिब २ करोडमै सम्पन्न गरेको हो। निवर्तमान नगर प्रमुख खनालले बजेट लागत अनुमान धेरै देखिएकाले समयमा सम्पन्न नहुने ठानेपछि स्थानीय सरकारले आफ्नै लगानीमा खानेपानी योजना सुरू गरेको बताए। गौरवको आयोजना सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै उनले योजनाका निम्ति विद्युत पूर्वाधारका काम आफ्नै कार्यकालमा भएको जानकारी दिए।


प्रतिक्रिया