विपी स्मृति दिवस :- ‘विपन्न परिवारलाई काँग्रेसको घर उपहार’

वालिङ ।
बिरुवा गाउँपालिका वडा नं. ५ किचनासकी एकल महिला नानीमाया बि.क. नेपाली काँग्रेस बिरुवा गाउँकार्यसमितिको सहयोगमा निर्माण भएको नयाँ घर बस्न पाउने भएकी छन् । आर्थिक अभावका कारण वर्षौदेखि छाना चुहिने जिर्ण घरमा बस्न बाध्य भएकी बि.क. अब काँग्रेसले बनाईदिएको नयाँ घरमा बस्न पाएपछी खुसी भएकी छन् । बि.क.ले नयाँ घर पाएपछि खुसी व्यक्त गर्दै सहयोगी सबैलाई धन्यवाद दिएकी छन् । विगतमा आर्थिक अभावका कारण घर बनाउन नसकेको उनको भनाइ छ । ‘धेरै वर्षदेखि भत्किन लागेको पुरानो घरमा बस्न बाध्य थिए ।’ उनले भनिन, ‘विगत लामो समयदेखि पुख्र्यौली घरमा बस्दै आएकोमा घर पुरानो भएर भत्किन लागेपछि समस्या भएको थियो ।’
अब भने काँग्रेसले नयाँ घर बनाइदिएपछि पहिले जस्तो दुःख नरहेको उनीको भनाइ छ । बिरुवामा जस्तै भीरकोटमा पनि नेपाली काँग्रेसले विपन्न माझी परिवारलाई नयाँ घर निर्माण गरिदिएको छ । नेपाली काँग्रेस भीरकोट नगरकार्यसमितिले वडा नंं. ६ को चिउरेनीमा प्रेम माझीको परिवारका लागि नयाँ घर बनाइदिएको हो । आफ्नै लगानीमा घर बनाउन नसक्नेहरुलाई घर बनाइदिने काँग्रेसको योजना रहेको नेपाली काँग्रेसका जिल्ला सभापति राजु थापाले बताए । २०४८ सालदेखि जनताको सुखदुखमा लागेको पार्टी नेपाली काँग्रेस साच्चिकै गरीबको जगेर्ना गर्ने पार्टी भएको सभापति थापाले दावी गरे ।

३ लाख ५० हजार रुपियाँ खर्च गरी बिरुवामा नानीमाया वि.क.को घर निर्माण गरिदिएको नेपाली काँग्रेस बिरुवाका सभापति डोलराज पोख्रेलले बताए । आर्थिक अवस्था कमजोर भएको परिवारलाई समाजिक सेवाभावले सहयोग गरेको पोख्रेलको भनाई छ । गत साउन ६ गते विपी स्मृति दिवसको अवसर पारेर काँग्रेसले नानीमायालाई नयाँ घर हस्तान्तरण गरेको हो । यसैगरी आगामी भदौ २४ गते विपी जयन्तीको अवसर पारेर भीरकोटमा बन्दै गरेको घर माझी परिवारलाई हस्तान्तरण गरिने योजना रहेको नेपाली काँग्रेस भीरकोटका सभापति यामप्रसाद अधिकारीले बताए । माझीको आफ्नै जग्गामा घर बनिरहेको अधिकारीले बताए । उनका अनुसार पक्की जस्तापाताले छाएको बरन्डासहितका दुई कोठे घर निर्माण गरिएको छ । काँग्रेसले नयाँ घर बनाइ दिएपछि यहाँको माझी परिवार हर्षित भएका छन् । यसअघि उनीहरु पौवामा बस्दै आएका थिए ।


यसैविच ४३ औं विपी स्मृति दिवसमा स्याङ्जाको वालिङमा नेपाली कांग्रेस वालिङ नगर समितिको आयोजनामा विपीचोकमा विपीको शालिकमा माल्यार्पण गरिएको छ । विपीको शालिकमा माल्यार्पण गर्दै गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति एवम् कांग्रेस नेता भोजराज अर्यालले महामानव बीपी कोईरालाको नीति तथा सिद्धान्त अझै पनि ताजै रहेको र देश तथा विदेशमा बीपीको सिद्धान्तहरु कार्यान्वयन भईरहेको बताए ।
विपीको मेलमिलाप नीति अन्तराष्ट्रिय स्तरमा समेत कार्यान्वयन भएको भन्दै नेपाली कांगे्रसले विपीको सिद्धान्त भुल्न नहुँने भन्दै विपीले मार्गनिर्देश गरेको बाटोमा नेपाली कांग्रेस अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा नेपाली कांगे्रसका नेता कार्यकर्ताहरुले बीपीको आदर्श र सिद्धान्तलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । वालिङ नगर सभापति नेत्र प्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सचिव दामोदर लम्सालले गरेका थिए ।


यसैबीच नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव वि.पि. कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा अर्जुनचौपारीमा वृक्षारोपण गरिएको छ । नेपाली कांग्रेस अर्जुनचौपारी गाउँ कार्यसमितिद्वारा गरिएको वृक्षारोपण कार्यक्रममा करिब २०० वटा धुपी, कलकी, कपुर, रुद्राक्ष लगायतका बिरुवा रोपिएका छन् । वृक्षारोपण कार्यक्रम अर्जुनचौपारी गाउँपालिका–३ र ४ को सिमानामा अवस्थित ऐतिहासिक एकानन्द गुफा तथा गौशाला परिसरमा आयोजना गरिएको थियो । वातावरण संरक्षण र हरियाली प्रवद्र्धनको उद्देश्यसहित गरिएको कार्यक्रममा गाउँपालिका करिब १ सय जना सहभागी थिए । कार्यक्रममा शोभाकान्त काफ्ले, सपना गुरुङ, प्रेम पौडेल लगायतले आफ्नो भनाई राखेका थिए ।

 

प्रतिक्रिया