भष्ट्रचार र दण्डहिनताले नागरिकमा नैराश्यता : डा.कोइराला
प्रकाश डोटेल,
स्याङ्जा ।
नेपाली काँग्रेसका बरिष्ठ नेता डा. शेखर कोईरालाले देशमा भष्ट्रचार र दण्डहिनता मौलाउदा नागरिकमा नैराश्यता बढ्न थालेको बताएका छन् । भ्रष्ट्राचार र दण्डहिनता न्युनिकरणमा सरकार नलाग्दा नागरिकमा नैराश्यता बढेको कोइरालाले बताएका हुन् । नेपाली काँग्रेस स्याङ्जाका तत्कालिन सभापति तथा संविधानसभा सदस्य स्वर्गीय कमलप्रसाद पंगेनीको ७ औं स्मृति सभा तथा कमल पंगेनी प्रतिष्ठानको पहिलो अधिवेसनलाई स्याङ्जाको भीरकोटमा सम्बोधन गर्दै नेता डा. कोईरालाले सरकारले सुशासन कायम गर्न नसक्दा सरकारको ठूलो कमजोरी देखिएको बताए ।
निर्वाचनमा काँग्रेस माओवादी मिलेर चुनाव लडेको प्रशंङ्ग कोट्याउदै नेता कोइरालाले चुनावको तालमेल एउटासगँ र सरकार अर्कोसगँ मिल्दा नागरिकको अपेक्षा अनुसारको काम गर्न काँग्रेस चुकेको बताए । काँग्रेस र एमाले मिल्नुको औचित्य पुष्टि गर्न संविधान संशोधनको प्रक्रिया तत्काल शुरु गर्न उनले माग गरे । सरकार बनेको एक वर्ष भईसक्यो नेता कोइरालाले भने,‘सरकार बनाउनुको औचित्य पुष्टि गर्न ढिला भएको छ ।’ सरकारको ढिलाईले जनमानसमा व्यवस्थाप्रति आक्रोश बढ्नेक्रम बढेको उनले भने ।

सरकारको कामप्रति असन्तुष्ट व्यक्त गरेका कोइरालाले कुलिङ पिरियड, मिडिया काउन्सिल, बहुविवाह सम्वन्धी कानुनका बिषयमा सरकार गलतबाटोमा हिडेको बताए । सरकारका एकपछि अर्को फण्डाले देशमा सरकारप्रति नागरिकको विश्वास घट्दै जान थालेको बताए । काँग्रेस एमालेको सरकार बनेदेखी नै भष्ट्रचार र दण्डहिनता बढेको आरोप कोइरालाको थियो ।
पार्टीको आन्तरिक विषयमा बोल्दै नेता डा. कोईरालाले देशको राजनीति, आर्थिक र सामाजिक अवस्था कता गईरहेको छ, दलको आन्तरिक छलफलको विषय बन्नुपर्नेमा त्यसो हुन नसक्दा पछिल्लो समय आफुले राजनीतिक भेटघाटलाई तिव्रता दिएको उनले बताए । पार्टीको महाधिवेशन तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएका नेता डा. कोईरालाले महाअधिवेशनको मिति तय हुन सकेमा वडा तहसम्म पार्टी क्रियाशिल हुने र जीवन्त बन्ने बताए । ठूलो दलको पार्टी सभापति शेरबहादुर देउवाले आन्तरिक र बाह्यि विषयमा छलफल र भेटघाट बन्द गर्दा पार्टीलाई क्षति पुगेको उनले बताए । सभापतिले भेटघाट गर्न छाडेपछि आफुले भेटघाट गर्न शुरु गरेको कोइरालाले बताए ।

कार्यक्रममा काँग्रेसका उपसभापति धनराज गुरुङ, सहमहामन्त्री भिष्मराज आङ्दाब्वे, केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, सरस्वती तिवारी, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापतिद्धय कल्पना तिवारी, मेखलाल श्रेष्ठ, कास्कीका पुर्व सभापति यज्ञबहादुर थापा, तनहुँका पुर्व सभापति रघुनाथ पौडेल, गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल, स्याङ्जाका पुर्व सभापति श्रीप्रसाद जिटी, गण्डकी प्रदेशका सांसद महेश भट्टराई, जिल्लाका काँग्रेसका नेताहरु छायाँराम खनाल, बुद्धिबहादुर राना, भरत लम्साल, बिष्णु पौडेल, देवी अर्याल, प्रेमराज पौडेल, नेकपा एमालेका नेता विश्वनाथ अर्याल, भीरकोट नगर सभापति यामप्रसाद अधिकारी, लिला पंगेनी, देवी अर्याल लगायतका बक्ताहरुले बक्ताहरुले काँग्रेस पार्टी समयसगँ नयाँ सोच र नयाँ बिचारमा चल्नुपर्ने बताएका थिए । कमल पंगेनीको नाममा स्याङ्जा पर्वत जोड्ने सडकलाईलाई कमल पंगेनी मार्ग नामाकरण समेत गरिएको छ । उक्त नामाकरणको समेत डा.कोइरालाले शुभारम्भ गरेका थिए ।
नेपाली काँग्रेसका जिल्ला सभापति राजु थापाको सभापत्विमा सम्पन्न कार्यक्रमको स्वागत कार्यवहहाक सभापति केदार काफ्लेले गरेका थिए । आजै प्रतिष्ठानको अधिवेसन समेत सम्पन्न भएको बताइएको छ । कमल पंगेनीका दाजु लिला पंगेनीको अध्यक्षतामा कार्यसमिति चयन भएको जिल्ला सभापति थापाले जानकारी दिए ।


प्रतिक्रिया