स्याङ्जाका फलफुल र पशुपालक किसानलाई करोडौ अनुदान

प्रकाश डोटेल,
स्याङ्जा ।

स्याङ्जाका फलफूल तथा पशुपालक कृषकले ५० प्रतिशत अनुदान शिर्षकमा तीन करोड बढि मुल्य बराबरको रकम तथा सामग्री हात पारेका छन् । आर्थिक वर्ष २०८१/०८२ मा सुन्तला, आँप–लिची, अदुवा–बेसार र पशुपालक कृषकहरुले तीन करोड ३४लाख५३ हजार मुल्य बराबरको अनुदान हात पारेका हुन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम स्याङ्जामा आबद्ध कृषकले उक्त अनुदान पाएको हुन् । सुन्तला, आँप–लिची, कफी र अदुवा–बेसार उत्पादक, गाई भैसीपालन गर्ने कृषक, साना सिँचाई निर्माण र उद्यमशिलता परियोजनामा आबद्ध भएका कृषकहरुले उत्पादन बृद्धि र क्षेत्र विस्तारमा अनुदान रकम र उक्त मुल्य बराबरको सामग्री पाएको कार्यक्रम प्रमुख अजय अधिकारीले जानकारी दिए ।

जिल्लामा संचालित कार्यक्रमले सुन्तला खेतीतर्फ एक करोड २ लाख ५४ हजार, साना सिँचाईमा ९१ लाख ९ हजार नगद सहित सामग्री दिएको छ । गाई भैसीपालनमा ६४ लाख७६ हजार, उद्यमशिलतमा ३१ लाख ५३ हजार दिएको कार्यक्रमले चैते धान खेतीमा १६ लाख २२ हजार, आँप–लिची जोनतर्फ १२ लाख ७९ हजार, कफी खेतीमा ८ लाख ५० हजार र अदुवा–बेसार खेतीतर्फ ६ लाख २९ हजार गरी ५० प्रतिशत अनुदानमा तीन करोड ३४ लाख ५३ हजारको अनुदानका सामग्री दिएको छ । सुन्तला खेतीमा जिल्लाका तीन सय ८५ सहकारी तथा कृषकले क्षेत्र विस्तार तर्फ ५५ लाख ५० हजार पाएको कार्यक्रमका कृषि अधिकृत प्रतिभा बुढाथोकीले बताईन् । उनका अनुसार मेशिनरी औजार र उपकरणमा १३ लाख ७ हजार पाएका कृषकले बगैंचा सुधारमा १८ लाख १७ हजार पाएका छन् । क्षेत्रगत किरा नियन्त्रणतर्फ १५ लाख ८० हजार मुल्य बराबर सामग्री दिएको उनले बताईन् ।

साना सिँचाई निर्माण र मर्मत तर्फ सुन्तला, आँप–लिची, अदुवा–बेसार र कफी कृषकले ७१ लाख ३६ हजार र चैते धान सिँचाईमा १९ लाख ७३ हजार अनुदान दिएको कार्यक्रमले चैते धान कार्यक्रममा कृषिऔजार र मेशिनरी उपकरणतर्फ १६ लाख २२ हजार मुल्य बराबरको सामग्री दिएको छ ।

गाई भैसीपालन गरेका १६ सहकारी, ९ समूह सहित ९७ कृषकलाई गोठ सुधारमा १४ लाख ६७ हजार र दूध प्रशोधन सामग्रीमा ६ लाख ९ हजार दिएको कार्यक्रमले पशु नश्ल सुधारतर्फ ४४ लाख दिएको छ । जिल्लाको चापाकोट, वालिङ, गल्याङ् र भीरकोटका सबै वडा तथा पुतलीबजार र फेदीखोलाका केहि वडामा भैसी जोन कार्यक्रम संचालनमा छ । कफी खेतीतर्फ क्षेत्र विस्तारमा ६ लाख ९४ हजार र कफी संकलन, प्रशोधनमा एक लाख ५६ हजार दिएको कार्यक्रमले उद्यमशिलता लागत सहभागितामा ३१ लाख ५३ हजार नगद दिएको छ । कार्यक्रमले अदुवा–बेसारतर्फ उत्पादन र सुधारमा ६ लाख २९ हजार दिएको छ भने आँप–लिचीतर्फ क्षेत्र विस्तारमा ९ लाख ९५ हजार र बगैंचा सुधारमा दुई लाख ८४ हजार दिएको जनाएको छ ।

उद्यमशिलता तर्फ अकबरे खुर्सानीमा वालिङ् १२ का एक, गडौला मल उत्पादक कृषकमा पुतलीबजार १४ का एक, मौरी पालनमा आँधीखोला ४ र पुतलीबजार ११ का दुई कृषक लाभान्वित भएको कार्यक्रमले जनाएको छ । कार्यक्रमका अनुसार प्लाष्टिकटनेल तरकारी खेतीमा फेदीखोला ४ तथा वालिङ ५ का दुई र भौसीपालनमा बिरुवाका एक कृषक ५० प्रतशित अनुदानबाट लाभान्वित भएका छन् । सरकारी संयन्त्रबाट सहयोग र बैंक तथा वित्तीय संस्थाबाट सहुलियत कर्जा नपाएर निराश भएका कृषकले नगद र उपकरण पाउँदा उत्साह थपिएको चापाकोटका आँप–लिची तथा पशुपालक विश्वास पुरीले बताए । ५० प्रतिशत अनुदानमा पशुपालन र फलफूल खेतीमा उपयोग हुने उपकरणसँगै नगद पाउँदा कृषक उत्साहित भएको पुरीले बताए ।

प्रतिक्रिया