उत्तरगण्डकीमा दामोदर धर्मोत्सव हुने

वालिङ ।

स्याङ्जा र पाल्पाको संगमस्थल उत्तरवाहीनी क्षेत्रमा असोज २१ गतेदेखि कार्तिक १९ गतेसम्म उत्तरगण्डकी महामेला हुँदैछ। कालिगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको आयोजनामा रम्भा गाउँपालिकाको वडा नं १ असेर्दी र गल्याङ नगरपालिकाको वडा नं १ मालुङ्गाको संगस्थल भएर बग्ने विश्व प्रसिद्ध धार्मिक नदी कालिगण्डकीको किनारमा अवस्थित उत्तरवाहीनी क्षेत्रमा उत्तरगण्डकी महामेला हुन लागेको हो। यो क्षेत्रमा कालिगण्डकी नदी उत्तर भएर बगेको हुनाले यस क्षेत्रलाई उत्तरवाहीनी भनिएको हो। धर्मशास्त्रहरूमा उत्तरतर्फ बग्ने नदीलाई सर्वश्रेष्ठ तिर्थस्थल मानिन्छ। कालीगण्डकी नदीको उत्तरवाहीनी क्षेत्रमा स्नान गर्नाले सम्पूर्ण पापहरूको नाश हुने शास्त्रीय मान्यता रहेको छ।

धार्मिक पर्यटन र आध्यात्मिक पुनर्जागरण मार्फत कालीगण्डकी नदीको धार्मिक महिमालाई विश्वभर प्रचारप्रसार गरी उत्तरवाहीनी क्षेत्रलाई दिव्य धामको रूपमा विकास गर्ने र धार्मिक पर्यटन प्रवर्धन गर्ने योजनाका साथ उत्तरगण्डकी महामेला एवं दामोदर धर्मोत्सव–२०८२ गर्न लागिएको कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले जानकारी दिए । उनले आन्तरिक र बाह्य गरी करिब १ करोड भक्तजनको अपेक्षा गरिएको बताए। गण्डकी प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकारको विशेष सहयोग रहने यो धार्मिक महामेलालाई सफल पार्न गण्डकी र लुम्बिनी प्रदेशका स्थानीय सरकारहरूले पनि सहयोग गर्ने भएका छन्। गल्याङ नगरपालिका, बुटवल उपमहानगरपालिका, अर्जुनचौपारी गाउँपालिका, रम्भा गाउँपालिका, गैंडाकोट नगरपालिका, देवघाट गाउँपालिका र बर्दघाट नगरपालिकासँग सहकार्य भैरहेको कालिगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले जानाएको छ।

महामेलाले स्थानीय क्षेत्रको पर्यटन व्यवसायलाई समेत टेवा पुर्‍याउने आयोजकको विश्वास छ। महामेलामा नेपाल तथा भारतका गुरुहरूको सहभागिता रहने तथा नेपालसँगै भारतीय भक्तजनलाईसमेत भित्र्याउने प्रचारप्रसारको तयारी भैरहेको प्रतिष्ठानका अध्यक्ष चैतन्यले कृष्णले बताए । महामेलामा सहभागी हुने भक्तजनहरूलाई कालीगण्डकी तटमा रहेका महत्त्वपूर्ण धामहरू देवघाट, रुरुक्षेत्र, सेतीवेणी शीला, मुक्तिनाथ लगायतका तीर्थस्थल दर्शनको व्यवस्था मिलाइएको उनको भनाइ छ । महामेला अवधिभर ५ अरब तुलसीदल, गाईको दूध र गण्डकीजलद्वारा सवालाख शालग्राम भगवानको अभिषेक पूजन, जलयातायात एवं स्टीमरद्वारा गण्डकी भ्रमण, दामोदर कथा, दीपदान तथा श्रृङ्गारिक गङ्गा आरती, विश्वविख्यात सन्त एवं गुरुहरूद्वारा प्रवचन, उत्तरवाहिनी महास्नान, उत्तरवाहिनी पूजन, लगायतका गतिविधि गरिने उनले बताए। यस्तै राष्ट्रिय लोकभजन प्रतियोगिता, राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता, धार्मिक तथा सांस्कृतिक हाजिरीजवाफ, निबन्ध लेखन, कविता र टिकटक प्रतियोगिता सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ ।

उत्तरवाहीनी क्षेत्रको वृहत्तर विकासको लागि अर्थ संकलन गर्ने महामेलाको अर्को मुख्य उद्देश्य रहेको छ। यो क्षेत्रलाई दिव्य धाम र सनातन धार्मिक पर्यटन केन्द्रको रूपमा विकसित गर्न १ हजार जना भक्तजन अटाउन सक्ने भोजनालय र आवास सहितको धर्मशाला, सभाहल, व्यवस्थित घाट निर्माण, १ लाख २५ हजार शालग्राम अट्ने मन्दिर, व्यवस्थित तर्पण र श्राद्ध स्थल, गुरूकुल, उत्तरवाहिनी क्षेत्रको सौन्दर्यीकरण र प्राकृतिक अस्पतालको स्तरोन्नति गर्नका लागि आवश्यक आर्थिक स्रोतको व्यवस्थापन गर्नु उत्तरगण्डकी महामेला एवं दामोदर धर्मोत्सव २०८२ को उद्देश्य रहेको छ। यस मेलामा छात्र छात्राहरूमा अध्यात्मको जागरण ल्याउन देशव्यापी विद्यालय स्तरीय प्रतियोगिताहरु आयोजना गरिने, सन्तहरूको साथमा देशविदेशका वैज्ञानिकहरूले पनि सहभागिता जनाउनेछन् । धर्मको वैज्ञानिकताको प्रसार गर्ने, धार्मिक र वैज्ञानिक दुवै क्षेत्रका मूर्धन्य व्यक्तिहरूले एकै मञ्चबाट विश्वलाई नयाँ सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ ।

अहिलेसम्म अनुत्तरित प्रश्नहरुको उत्तर पाउन, उत्तरवाहिनी क्षेत्रमा पितृकार्य गर्दा कुनै उपायबाट पनि उद्धार नभएका पितृहरूको पनि उद्धार हुने हुँदा पितृ ऋण, देव ऋण र ऋषि ऋणबाट मुक्त हुन, योग साधना गर्न, सनातन वैदिक धर्मको रक्षाका लागि अहोरात्र लागिरहेका ब्रह्मचारी, गुरु, अभियन्ता र तपस्वीहरूको दर्शन गरी उहाँहरूको सेवा गर्न, प्रकृतिमा आफै ॐ लेखिएको अद्भुत ॐ कार चक्रशिलाको दर्शन गर्न, मध्यरातिमा पटकपटक शङ्गको ध्वनि आउने अद्भुत शङ्गेपिपल दर्शन गर्न, गण्डकी नदीमा मात्र पाइने भगवान शालग्रामको दर्शन र अध्ययन गर्न, गण्डकी तटमा विकसित भएको सभ्यता, कला र संस्कृतिको अध्ययन गर्न सबैले पटक पटक उत्तरवाहिनी दर्शन गर्नैपर्ने चैतन्य कृष्णले बताए।

 

प्रतिक्रिया