४० वर्षमुनिका ४० युवाको सूचीमा अर्जुनचौपारीका तिवारी
भीरकोट ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी ‘४० वर्षमुनिका ४० युवा’ सूचीमा समावेश भएका छन्। राष्ट्रिय स्तरको अनलाइन पत्रिका अनलाईन खबरले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देशभरका ४० वर्ष मुनिका ४० जना प्रभावशाली एवं सामाजिक, आर्थिक, राजनितिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका युवाहरूको सूची सार्वजनिक गरेको थियो। सो अवसरमा राजधानी काठमाडौंमा अनलाइन खबरद्वारा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले तिवारीलाई अवार्ड प्रदान गरेका छन् । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट विजयी भई नेतृत्वमा पुगेका तिवारीले गाउँपालिकामा धेरै उदाहरणीय कार्यहरू गरेका छन्। ३३ वर्षको उमेरमा नै अध्यक्षमा निर्वाचित भएका तिवारीले अर्जुनचौपारी गाउँपालिकाको बहुआयामिक विकासमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ। अध्यक्षमा निर्वाचित भएपछि तिवारीले शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुद, खेल पर्यटन, धार्मिक पर्यटनको उन्नतिमा विशेष ध्यान दिएका छन् । उनको परिकल्पनामा बनेको नेपालकै पहिलो नवग्रह मन्दिरले गाउँपालिकालाई जिल्लामा, नेपाल र भारतमा समेत चिनाएको छ। नवग्रह मन्दिरमा हरेक शनिवार हजारौं श्रद्धालु भक्तजनहरू आउने गर्दछन्।
अध्यक्ष तिवारीले आफूलाई गाउँपालिकाको प्रमुख सेवक भन्न रूचाउछन्। उनी जनताको प्रमुख सेवक बनेपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भएको छ । २०७९ सालमा कक्षा ३, ५ र ८ को पालिकास्तरीय परीक्षामा क्रमशः २४.२ प्रतिशत, १७.१ प्रतिशत र १२.८ प्रतिशत मात्र उत्तीर्ण भएका थिए, भने २०८१ सालमा यी प्रतिशत क्रमशः १०० प्रतिशत, ९७.६ प्रतिशत र ९२.९ प्रतिशतमा पुगेका छन् । सामुदायिक शिक्षाको गुणस्तर सुधार्न खोज्दा स्वार्थ प्रेरित व्यक्तिहरूसँग कानुनी लडाइँ समेत लड्न बाध्य भएका तिवारी सामुदायिक विद्यालयको नतिजामा अपेक्षित साथ र सुधार पाएपछि सामाजिक सुधारका क्षेत्रमा थप हौसिएका छन्। पालिकामा आधारभूत अस्पताल नभएपनि पालिकाले स्वास्थ्यका लागि ‘नागरिकलाई टेवा, घरघरमा स्वास्थ्य सेवा’ कार्यक्रम राखेर स्वास्थ्य सेवालाई नागरिकको घरदैलोमै पुगेर सेवा प्रदान गर्दै आएको छ। वडा तथा स्वास्थ्य संस्थाबाट प्राप्त हुने सेवा सुविधा घुम्ती शिविर मार्फत जनताको गाउँ घरमा नै पुगी प्रदान गरिदैं आइएको छ। नागरिकको सहजताका लागि पालिकाका स्वास्थ्य संस्थामा २४ सै घण्टा स्वास्थ्य सेवा उपलब्ध छ । शनिबारको दिनमा पनि स्वास्थ्य सेवा उपलव्ध छ । निर्वाचन पछि तीन वटा वडामा स्वास्थ्य चौकी निर्माण गरिएको छ । यसैगरी जिल्ला प्रशासनबाट विविध कारणले सहज सेवा पाउन नसकेका वा कागजपत्र सच्याउनुपर्ने नागरिकलाई पालिकाले नै आफ्नै स्रोत साधन प्रयोग गरेर सेवा प्राप्त गर्न सहजीकरण गर्दै आएको छ।
सबै जनप्रतिनिधिहरूलाई सहमत गराएर तिवारीले पालिकामा जनमुखी काम गरेका छन्। उनले सम्पूर्ण जनप्रतिनिधि बिच सहमती जुटाएर जनप्रतिनिधिले प्राप्त गर्ने सेवा–सुविधाको १० प्रतिशत काटेर सामाजिक उत्तरदायित्व कोष बनाएका छन् । उनी गाँउपालिका अध्यक्ष हुँंदा पालिकामा १ मिटर पनि कालोपत्रे सडक थिएन । अहिले आन्तरिक स्रोत, संघ र प्रदेशको बजेटबाट करिब १५ किमी सडक कालोपत्रे भएको छ। नवग्रह कृषि फार्म, औद्योगिक ग्राम, स्थानीय रोजगार कार्यक्रम लगायतबाट पालिकामा रोजगारी सिर्जना गरिएको छ । युवाहरूलाई सरकारी जागिरमा उत्प्रेरित गर्न गाउँपालिकाले लोकसेवा कक्षा र सेना प्रहरीको तयारी कक्षा समेत संचालन गर्दै आएको छ। करिब १ सय जनालाई पालिकाले विभिन्न क्षेत्रमा आफैंले रोजगारी प्रदान गरेको छ । तिवारीको सकारात्मक सोच र नेतृत्व शैलीले उनलाई राष्ट्रमा सकारात्मक उर्जा र उत्प्रेरणा प्रदान गर्ने ४० उत्कृष्ट युवाको सूचीमा समावेश गराएको छ। स्याङ्जामा नाम चलेका नगरपालिकाहरू गुमनाम भैरहेका बेला अर्जुनचौपारी गाउँपालिका भने प्रकाशको प्रकाशका कारण जिल्लामा मात्रै नभएर देश विदेशमा समेत चर्चामा छ।


प्रतिक्रिया