निवेदक नै प्रहरीको फन्दामा !

स्याङ्जा ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जामा सुन चोरी भयो भन्दै निवेदन दिने व्याक्ति नै प्रहरीको फन्दामा परेका छन् । स्याङ्जाको फेदिखोला गाउँपालिका –१, चारघरेकी देवी कुमारी गुरुङले सुनका गरगहना घरमा कोही नभएको समयमा चोरी भएको भन्दै प्रहरी कार्यालयमा साउन २७ गते निवेदन दिएकी थिइन् । प्रहरीले सुन चोरी भएको घट्नालाई अनुसन्धान गर्दै जादा चोरी भएको सुनका गरगहना घरमै भेटिएपछि झट्टा निवेदन दिएको आरोपमा गुरुङ्लाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रशन्न राज चौधरीका अनुसार चोरीको निवेदन दर्ता भएसगै तत्काल खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा घरको ताला फुटाइएको कुनै प्रमाण नपाएको र हराएको भनिएका सुनमध्ये तीन थान साउन २८ गते गुरुङकै घरभित्र फेला पारेको जानकारी दिएका छन् । घरमै गरगहना लुकाएर चोरी भएको भन्दै झुटो विवरण दिएकाले गुरुङ्लाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढाएको सुचना अधिकारी चौधरीले बताए ।

बाँकी गहनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै, आफ्नो हक पुग्ने सम्पत्ति चोरी भएको भनी झुटा उजुरी नगर्न प्रहरीले आग्रह गरेको छ । प्रहरीले यो भन्दा अगाडी पनि आँधीखोला गाउँपालिका १ मा सुन चोरी भएको झुट्टा निवेदन दिने दुईजनालाई पक्राउ गरी कारवाही गरेको थियो । आँधीखोला गाउँपालिका १ हिले बस्ने चन्द्रकुमारी गुरुङ् र धनराज गुरुङ्लाई झुट्टा निवेदन दिएको आरोपमा साउन १७ गते पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको छ ।

प्रतिक्रिया