जेष्ठ नागरिकको आँखाको ज्योती फर्काउदै वालिङ

वालिङ ।
आँखा मानिसहरुको अत्यन्तै संवेदनशील अंग हो । आँखा देखिएन भने संसार देख्न सकिदैन । त्यसैले आँखालाई जोगाइराख्न र सुरक्षित बनाइराख्न बेला—बेलामा परिक्षण गरिरहनुपर्छ । अहिले वालिङ नगरपालिकाले आफ्ना नागरिकलाई यस्तै सन्देश दिदै वडा—वडामा पुगेर आँखा जाँच गर्ने अभियान शुरु गरेको छ । तीनबर्ष देखी वालिङ नगर स्वास्थ्य शाखाले कार्ययोजना बनाएर हिमालय आँखा अस्पतालसगँ प्राविधिक सहयोगमा आफ्ना नागरिकको आँखा परीक्षण गर्दै आएको छ । आँखा परीक्षण मात्रै नभएर आँखामा देखिने रोगको निधान समेत निशुल्क रुपमा गर्दै आएको छ ।

आँखामा सबैभन्दा बढी मोतियाबिन्दु रोग भेटिने गरेपछि वालिङ नगरपालिकाले गह्रौ प्रथामिक अस्पतालमा निशुल्क शल्याक्रिया समेत गरिदिन थालेको वालिङ नगर स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । गएको बर्ष १० ओटा वडामा आँखा शिविर गरेर मोतियाबिन्दु रोग देखिएका नागरिकको निशुल्क शल्याक्रिया गरेर आँखाको ज्योति नै फर्कादिएको थियो । यो पटक ४ ओटा वडामा आँखा शिविर सम्पन्न गरिसकेको प्रमुख पाण्डेले बताए । यो शिविरमा वडा ७, ९, ११ र १२ का नागरिकको आँखा परीक्षण गरिएको थियो । जसमा ६९५ जनाले सेवा लिएकामा ९४ जनामा मोतियाविन्दु रोग देखिएको छ ।

मोतियाविन्दु पहिचान भएका मध्ये ८० जनाको सफल शल्यक्रिया गरिएको पाण्डेको भनाई छ । स्क्रिनिङ शिविर एवं शल्यक्रिया शिविरले प्रष्ट आँखा देख्न नसकेका नागरिकलाई प्रष्ट आँखा देख्ने बनाइएको उनले बताए । मोतियाविन्दु सामान्य रोग हो उनले भने,‘यो रोगलाई समयमै निधान गरिएन भने आँखाको ज्योती नै गुम्छ ।’ त्यसैले आँखा बेला—बेलामा परीक्षण गरिरहनुपर्छ उनले भने । टाढा वा नजिक नदेखिनु, धमिलो देखिनु लगायतका समस्या आएमा तत्काल स्वास्थ्य संस्थामा गएर चिकित्सकको सल्लाह लिन पनि स्वास्थ्य प्रमुख पाण्डेले सबै नागरिकहरुलाई सुझाएका छन् ।

वालिङ नगरपालिकाले सबैभन्दा बढी नागरिकको स्वास्थ्यमा चासो दिएको देखिन्छ । विद्यालय नर्स राखेर होस वा घर—घरमापुगेर सबै नागरिकको स्वास्थ्य परीक्षण गरिरहेको छ । नागरिक स्वाथ्य भएननन् भने नगरपालिका नै स्वाथ्य हुदैन भन्ने अभियानका साथ स्वास्थ्यमा नगरपालिकाले बिशेष चासो राख्ने गरेको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए । उमेर ढल्कदै गएपछि मानिसमा हरेक खालका रोगहरु देखिने भएकाले सामान्य उपचारबाट निको हुनसक्ने रोगको पहिचान गर्ने र स्वास्थ्य संस्थामा पठाउने गरेको सुवेदीको भनाई छ । वालिङ नगरपालिकाले गतबर्ष र अहिले गरेर १८९५ जना नागरिकको आँखा परीक्षण गरेको छ भने २४६ जनाको मोतियाविन्दु रोगको शल्याक्रिया गरेको छ । यो अभियानलाई निरन्तर दिदै आगामी ५ बर्ष भित्र मोतियाविन्दु रोग वालिङ नगरपालिकाबाट निर्मुल पार्ने योजनामा रहेको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया