प्रतियोगिताले विद्यार्थीलाई रेडक्रस चिनाउने अभियान
स्याङ्जा ।
नेपाल रेडक्रस सोसाइटी अन्तर्गत जुनियर तथा युवा रेडक्रस समिति स्याङ्जाले रेडक्रस संस्थालाई चिनाउन हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थी माझ हाजिरी जवाफ प्रतियोगिता मार्फत जिल्ला रेडक्रस स्याङ्जाले संस्थालाई चिनाउने अभियान अन्तर्गत प्रतियोगिता सम्पन्न गरेको हो । ११ ओटै पालिकामा पुगेर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न पछि जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता बुधवार जिल्ला सदरमुकाम पुतलीबजारमा सम्पन्न गरेको जनाएको छ । विद्यार्थीहरुलाई रेडक्रसको बारेमा जानकारी दिने र प्रतिभाको खोजी गर्ने उदेश्यले जुनियर तथा युवा रेडक्रस समिति स्याङ्जाले जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्दै आउको छ ।
जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका सभापति तथा केन्द्रीय सदस्य दिनेश अर्यालले रेडक्रस संस्था विपद्को सारथी भएको बताए । विपद् जहाँ छ त्यहाँ रेडक्रस छ भन्ने सन्देश दिन बार्षिक कार्ययोजना अनुसार हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको सभापति अर्यालले बताए । रेडक्रस प्राकृतिक विपद्को सामना गर्ने एक सामाजिक संस्था भएको सभापति अर्यालको भनाई थियो ।
कार्यक्रममा चिराग आवासीय माविका शिक्षक नायक रुक्मागत भण्डारी, भाग्योदय माविका विद्यार्थी कुशुम रेग्मी, भीरकोट नगरपालिका जुनियर संयोजक शोभाकान्त पौडेल, पत्रकार महासंघका पुर्व अध्यक्ष ओमप्रकाश शर्मा, पुतलीबजार शिक्षा अधिकृत शोभा बस्याल लगायतका बक्ताहरुले रेडक्रसको मुल्य, मान्यता र सामाजिक क्रियाकलापका बिषयमा चर्चा गरेका थिए ।
हाजिरी जवाफ प्रतियोगितामा गल्याङ नगरपालिकाको चिराग आवासीय मावि प्रथम, अर्जुनचौपारी गाउँपालिकाको चिल्ड्रेन एकेडेमी द्धितिय र कालीगण्डकी गाउँपालिकाको भगवती मावि तृतिय भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने विद्यालयले ५ हजार, ३ हजार, २ हजार नगद र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका थिए । पालिकास्तरीय बाट छनोट भएका विद्यालयका विद्यार्थीहरु बिच हाजिरीजवाफ प्रतियोगिता भएको थियो । प्रतियोगितामा जिल्लाका १० विद्यालय सहभागी रहेका थिए ।
जुनियर तथा युवा रेडक्रस समितिका संयोजक बिष्णु सुवेदी गैह्रेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको स्वागत नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका उपसभापति लक्ष्मीकान्त रेग्मीले र संचालन नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका शाखा प्रमुख संजिता श्रेष्ठले गरेका थिए ।


प्रतिक्रिया