वालिङ नगरको खबर— ‘बजेट आयो, योजना आएन’
वालिङ ।
आर्थिक बर्ष २०८२/०८३ का लागि वालिङ नगरपालिकाले नगरसभामा पेश गरेको बजेट अहिले सम्म सार्वजनिक गरेको छैन । नगरसभामा १ अर्व ५ करोडको ७६ लाख ९ हजारको बजेट पेश गरेको थियो । सभामा क्षेत्रगत बजेट नै नछुट्टाई पेश गरेका कारण बजेट सार्वजनिक गर्न ढिलाई भएको हो । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१ अनुसार आगामी बर्षको बजेट असार १० गतेभित्र पेश गर्नुपर्ने व्यवस्था छ । जस अनुसार वालिङ नगरपालिकाले समयमै बजेट नगरसभामा पेश गरेको थियो ।
नगरसभामा पेश भएको बजेटलाई असार मसान्त भित्र कार्यपालिकाबाट अनुमोदन गरिसक्नु पर्ने कानुनी व्यवस्था छ । कार्यपालिकाबाट बजेट अनुमोदन भए पनि नगर प्रमुखले अख्तियारी नदिदा बजेट सार्वजनिक गर्न नसकिएको दावी नगरपालिकाको छ । क्षेत्रगत योजना र कार्यक्रमका लागि पेश गरिएको बजेट भन्दा बढी योजना आएपछि बजेटको ब्रेकडाउन हुन नसकेको बताइएको छ । बजेट ब्रेकडाउन हुन नसकेपछि नगरको वेवसाइडमा सार्वजनिक गर्न कठिनाई भएको नगरपालिकाले जनाएको छ ।
वालिङ नगरपालिकाको बजेटको क्षमता ९३ करोड रहेपनि उपप्रमुखले पेश गरेको बजेट झण्डै १२ करोड बढी रहेको छ । समयमै क्षेत्रगत योजना बाँडफाड नहुँदा बजेटको आकार झनै बढेपछि भित्रभित्रै विवाद सिर्जना भएको बुझिएको छ । नगरसभामा पेश भएपछि पनि योजनाहरु थपगर्दा घाटा बजेट सिर्जना हुनेभएपछि विवाद सिर्जना भएको एक कर्मचारीले बताए ।
असार मसान्तभित्र बजेट अनुमोदन भई ७ दिन भित्र प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिने कानुनी व्यवस्था अनुसार वालिङ नगरपालिकाले साउन ७ गते बजेट कार्यन्वयन गर्न नगर प्रमुखले अख्तियारी दिनुपर्ने थियो । तर अहिले सम्म प्रमुख प्रशासकीयलाई अख्तियारी नदिएकाले बजेट नगरपालिकाको वेवसाईडमा समेत सार्वजनिक हुन नसक्दा नागरिकले माग गरेका योजनाहरु परेकी परेका छैनन् भन्ने थाहा पाउन सकेका छैनन् । यस बिषयमा नगर प्रमुख कृष्ण खाँणले केही प्राविधिक समस्याका कारण बजेट सार्वजनिक गर्न ढिलाई भएको बताए । शनिवार (भदौ १४ गते) सम्म वालिङ नगरपालिकाको बजेट सार्वजनिक हुने खाँणको भनाई छ । सिमित बजेट योजना धेरै हुँदा केही समस्या हुन गएको खाँणले बताए ।
समयमै बजेट हस्तान्तरण नहुँदा नगरपालिकाले बार्षिक रुपमा गरिने काम सबै ठप्प भएका छन् । यो समस्या हरेक बर्ष हुँदै आएको छ । गतबर्ष पनि प्रमुख र उपप्रमुख बिच बजेट बाँडफाँडमा विवाद हुँदा भदौको अन्तिम सातामात्रै बजेट सार्वजनिक भएको थियो । यो बर्ष पनि पुरानै समस्या दोहोरिने देखिएको छ । समयमै बजेट सार्वजनिक गर्न नसक्दा नगरपालिका स्थानीयतह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिसा) मा कमजोर बन्दै गएको छ ।


प्रतिक्रिया