स्याङ्जामा अपराधिक गतिविधिमा संलग्न २२ जना पक्राउ

वालिङ ।
जिल्लामा प्रहरीको सक्रियता बढेसगै अपराधिक गतिविधिमा संलग्नहरु धमाधम पक्राउ परेका छन् । प्रहरीले दैनिकजसो अपराधिक गतिविधिमा संलग्नहरु पक्राउ गरिएको छ । जुन प्रहरीको तथ्याङ्कले पनि देखाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकसातामा २२ जना व्याक्तिलाई विभिन्न क्रियाकलापमा संलग्न भएको आरोपमा पक्राउ गरेर कारवाही पक्रिया अगाडी बढाएको छ । प्रहरीले भदौ ८ गतेदेखी १२ गतेसम्म प्रहरीले २२ जना मानिस, केही सवारी साधन, लागुऔषध नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले पक्राउ गरेका व्याक्तिहरु लागुऔषध देखी कुटपिटमा संलग्न, नदीजन्य पदार्थ उत्खनन् देखी ज्यानमार्ने उद्योग र जुवातास खेल्ने सम्मका रहेका छन् । त्यसैगरी अदालतले कसुरदार ठहर गरेर फरार रहेका समेत दैनिकजसो पक्राउ गरिरहेको छ । यो क्रियाकलापले स्याङ्जा प्रहरी कति सक्रिय छ भन्ने प्रष्ट देखाएको छ । दरबन्दी अनुसारको जनशक्ति नभएपनि शान्तिसुरक्षामा स्याङ्जा प्रहरीले आफ्नो सक्रियतालाई बढाएको छ ।

प्रहरीले भदौ ८ गते गाडी तोडफोड र कुटपिटमा संलग्न रहेको भन्दै पुतलीबजारका २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार ४ का २७ बर्षिय अजय परियार र सोही ठाउँमा बस्ने बर्ष २१ का निर्मल परियार रहेका छन् । दुवैजनालाई अभद्र व्यवहार सम्वन्धी कसुरमा १० दिनको म्याद थपी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी भदौ ९ गते वालिङ नगरपालिका ५ बस्ने ३२ बर्षिय ढालबहादुर थापालाई कुटपिट गरी हत्या गरेको अभियोगमा ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनास गाउँपालिका ७ जना र चापाकोट नगरपालिकाका १ जना रहेका छन् । हरिनास ५ का २२ बर्षिय सिजन थापा, २४ बर्षिय अनिल शाही ठकुरी, २० बर्षिय विवेक मानन्धर, २३ बर्षिय गोरे भन्ने गुरुप्रसाद लम्साल, १७ बर्षिय आर्यन क्षेत्री, २३ बर्षिय विश्वास वाग्ले र हरिनास ६ का २२ बर्षिय निशान थापा रहेका छन् भने चापाकोट ५ का १८ बर्षिय बादल विकलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा १० दिनको म्याद थपी अनुसन्धान गरेको जनाएको छ । वालिङ ५ स्थित जर्कोटमा थापालाई कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए । उनको पोखरा उपचारका लागि लैजादै गर्दा अस्पतालले मृत घोषणा गरेको थियो । यस बिषयमा प्रहरीले गहिरो अनुसन्धान गरिएको जनाएको छ ।

भदौ ९ गतेनै प्रहरीले लागुऔषध बोकेर बसमा हिडिरहेका २ जनालाई पक्राउ गरेको छ । बुटवलबाट पोखरा जादै गरेको लु १ ख ५४५१ नम्बरको यात्रुबहाक बसमा सवार कास्की जिल्ला पोखरा महानगरपालिका ९ बस्ने साजन ठकुरी र सोही ठाउँमा बस्ने २२ बर्षिय अर्जुन गुरुङ्लाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । उनीहरुको साथबाट डाईजेपाम ३६, नुफिन ३७, फेनेगन ३७ एम्पुल गरी ११० एम्पुल नियन्त्रणमा लिएको थियो । वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी चौकी राम्दीको संयुक्त टोलीले चेकजाँच गर्नेक्रममा लागुऔषध सहित दुई युवा भेटिएका थिए । उनीहरुलाई लागुऔषध मुद्धमा म्याद थपगरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले भदौ १० गते पुतलीबजार १३ कुलबाँध स्थित प्रेमराज थापाको घरमा तास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ । तास खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा पुतलीबजार १३ का ४९ बर्षिय प्रेमराज थापा, सोही ठाउँका ५३ बर्षिय हिमप्रसाद सार्की, ३१ बर्षिय राजु थापा, ३१ बर्षिय सन्देश थापा र ३१ बर्षिय राजु थापा भन्ने रोविन थापा रहेका छन् । उनीहरुको साथबाट तासबुक, ११ हजार २ सय ७० नगद बरामद गरेको छ । उनीहरुलाई जुवातास सम्वन्धी कसुरमा जिल्ला प्रशासनबाट ७ दिनको म्यादथप लिई अनुसन्धान गरिएको जनाएको छ ।
भदौ १० गते पुतलीबजार २ चिरुवा स्थित चिरुवा आधारभुत स्वास्थ्य केन्द्रको झ्याल, ढोका लागयत तोडफोड गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । सोही ठाउँका २२ बर्षिय राम किसान गुरुङ्लाई पक्राउ गरी अपराधिक उपद्रप गरेको कसुरमा जिल्ला अदालतबाट १० दिनको म्याद थपगरी कारवाही प्रक्रिया अगाडी बढाएको छ ।

भदौ ११ गते प्रहरीले एकजना फरार कसुरदारलाई पक्राउ गरेको छ । २०७० साल चैत्र १८ गते उच्च अदालत पोखराले अपहरण तथा शरीर बन्धक कसुरमा २ बर्ष ९ महिना ५ दिन कैद र २५ हजार जरिवाना तोकिइ फरार रहेका अर्जुनचौपारी गाँउपालिका ५ का ३८ बर्षिय ठाकुर विकलाई पोखराबाट पक्राउ गरेको थियो । कैद भुक्तान र जरिवाना असुलको लागि जिल्ला अदालत स्याङ्जामा बुझाइएको प्रहरीले जनाएको छ ।

यसैगरी भदौ ११ गते प्रहरीले अबैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गरेको अभियोगमा ३ ओटा ट्याक्टर र ३ जना चालकलाई पक्राउ गरेको छ । उक्त ट्याक्टर नियन्त्रणबाट २ हजार ५ सय ४४ घनमिटर बालुवा नियन्त्रणमा लिएर भीरकोट नगरपालिकालाई बुझाएको छ । बालुवा उत्खनन् गरिएको क्षेत्रमा जिल्ला समन्वय उपप्रमुख, प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा समिति, पत्रकार र भीरकोटका प्रमुख सहितको अनुगमन पश्चात नदीजन्य पदार्थ उत्खनन् गरेको फेला परेकाले आवश्यक कारवाही गर्न भीरकोट नगरपालिकालाई जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए ।

 

प्रतिक्रिया