ठेकेदारको लापरवाहीले आयुर्वेद अस्पतालको भवन ३ वर्षदेखि अधुरै

अमृत अर्याल
वालिङ ।
वालिङ नगरपालिकाको वडा नं. १ यवादीमा आयुर्वेद अस्पताल निर्माणकार्य अलपत्र परेको छ । ठेकेदारको लापरवाहीका कारण निर्माण कार्य अलपत्र परेको हो । २०७९ सालमा शिलन्यास भएको उक्त अस्पतालको निर्माण कार्य अलपत्र हुँदा अहिले यसले आफ्नो अस्तित्वको झोली थापिरहेको छ । सेफ इन्जिनियरिङ विल्डर्स भरतपुरले १५ महिनामा सम्पन्न गर्ने गरी २०७९ भदौमा सुरु गरेको निर्माण कार्य हालसम्म पनि सकिएको छैन । ३ वर्ष पूरा भैसक्दा पनि भवन निर्माणको काम सक्ने गरी निर्माण कम्पनीले काम अगाडि बढाएको छैन । एकसरो भवनको संरचना निर्माण भएता पनि अन्य काम अलपत्र अवस्थामै छ । उक्त अस्पताल २०७७ सालमै निर्माण सुरु गर्न लागिएको अवस्थामा केही जग्गा अपुग हुने देखिएपछि जग्गा थप गरी ०७९ बाट निर्माण आरम्भ गरिएको थियो ।

२ करोडको लगानीमा १८ कोठे आयुर्वेदिक अस्पताल बन्ला र सहज उपचार सेवा पाइएला भन्ने वालिङवासीको सपना अधुरै रहेको छ । अस्पताल निर्माणमा सहयोग गर्न सबै पक्षसँग आग्रह गरिएकोमा अहिलेसम्म कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ । ठेकेदारको लापरवाहीका कारण अस्पताल खण्डहर हुने अवस्थामा पुगेको वडाध्यक्ष पदमराज गुरुङले बताए । अस्पताल संरक्षण समितिका अध्यक्ष समेत रहेका गुरुङले भने, ʻझण्डै २ करोडको आयोजना त्यसै अलपत्र अवस्थामा छ । हामीले पटक पटक ठेकेदारलाई ताकेता गर्दा पनि कुनै मतलब गरेन । हामीले शहरी विकास कार्यालय पोखरालाई पनि कामको अनुगमन गरी ठेकेदारलाई कारवाही गर्न माग गरेका छौं । ठेकेदारको हेलचेक्राइले गर्दा निर्माण कार्य अघि बढ्न सकेन ।ʼ अस्पतालको सेवा प्रभावकारी बनाउने योजना कार्यान्वयन गर्न अधुरो भवन बाधक रहेको उनको भनाई छ ।

‘शिलन्यास गरेको लामो समय बितिसक्दा पनि ठेकेदारले चासो नदिँदा अस्पताल निर्माण अघि बढ्न सकेको छैन,’ निवर्तमान वडाध्यक्ष केदार काफ्लेले भने, ‘निर्माण कार्य अघि बढ्न नसक्दा बर्सेनि आउने बजेट पनि फ्रिज हुँदै गएको छ । ३ वर्ष अघि शिलन्यास गरिएको भएता पनि अस्पताल निर्माणको काम त ५ वर्ष अघिदेखि सुरु भएको हो, तर हालसम्म पनि अलपत्र अवस्थामै छ । नयाँ भवनको काम सकिए जनशक्ति व्यवस्थापन गरेर उपचार सेवा प्रभावकारी बनाउनहुन्थ्यो तर कहिले भवन बन्छ ? त्यो नै टुंगो छैन ।’ ठेकेदारले निर्माणमा ढिलाई गर्दै कृतिम बाहाना बनाउने प्रवृत्ति देखिएको अस्पतालका प्रमुख हरी अर्यालको गुनासो छ ।अलिकति काम गर्दै म्याद थप्दै गरेको निर्माण कम्पनीले कहिले काम सम्पन्न गर्ने हो कुनै टुंगो छैन ।

उक्त ठाउँमा अहिले पनि आयुर्वेद अस्पताल संचालनमै रहेको छ । तर अब बन्ने अस्पतालबाट बाथ रोगीका लागि स्टिम बाथ, मसाज, बिरामी परीक्षण, औषधी उपचार, जडिबुटी नमुना संकलन र पन्चकर्म सेवा संचालन हुने बताईएको छ । उक्त भवन शहरी विकास तथा भवन निर्माण संघीय आयोजना कार्यान्वयन इकाई कास्कीद्धारा टेण्डर आव्हान भै निर्माण सुरु भएको थियो । अस्पतालको लागि थप जग्गा स्व. भिमबहादुर पाण्डे तथा छोराहरु कुमार पाण्डे, कल्याण पाण्डे र दिपेन्द्र पाण्डेद्धारा निशुल्क प्रदान गरेका थिए । निर्माण कार्यमा ढिलाई गरेको सम्वन्धमा बुझ्न ठेकेदार सुर्यप्रसाद पौडेललाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया