प्रहरीको सक्रियता— १४ जना पक्राउ, ३ ट्याक्टर नियन्त्रणमा
स्याङ्जा ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र मातहतका कार्यालयहरुले एकसाता भित्र विभिन्न क्रियाकलापमा संलग्न १४ जनालाई पक्राउ गरेको छ भने अबैध नदीजन्य पदार्थ ओसारपसार गरेको आरोपमा ३ ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरीले अदालतबाट कैद सजाय र जरिवाना तोकि फरार रहेका कसुरदार देखी ज्यान मार्ने उद्योग, चोरीमा संलग्नगरी १४ जनालाई पक्राउ गरेको हो । त्यस्तै अबैध रुपले नदीजन्य पदार्थ उत्खनन् गरी ओसारपसार गरेको अभियोगमा प्रहरीले विभिन्न ठाउँबाट ३ ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि सम्वन्धित निकायमा बुझाएको छ ।
प्रहरीले भदौं २३ र २४ गते जेन जीले गरेको आन्दोलनको फाइदा उठाउदै कारागारबाट भागेका २ जना र बिभिन्न मुद्धामा अदालतले कसुरदार ठहर गरी सजाय सुनाइएका ९ जना फरार अभियुक्तलाई पक्राउगर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रशन्नराज चौधरीले एकसाता भित्र जारी गरेको प्रेस विज्ञप्तीमा प्रहरीको बिशेषटोलीले फरारको सुचिमा रहेका कसुरदारहरु पक्राउ गरेको उल्लेख गरेका छन् ।
जेन जीको आन्दोलनको फाइदा उठाउदै केन्द्रीय कारागारबाट भागेका वालिङ ९ का ३५ बर्षिय मदन माझी र बालगृहबाट भागेका बिरुवा गाउँपालिका ६ बस्ने ११ बर्षिय नाबालकलाई घरमै बसिरहेको अवस्थामा प्रहरीको बिशेष टोलीले पक्राउ गरेको जनाएको छ । दुवैजना जवरजस्ती करणीको मुद्धामा कारागार चलान भएका थिए ।
त्यसैगरी विभिन्न अदालतबाट फैसला भइ फरार रहेका १० जनालाई पक्राउ गरी जिल्ला कारागार स्याङ्जा बुझाएको जनाएको छ । ९ जना एकैदिन विभिन्न ठाउँबाट पक्राउ परेका थिए । बिरुवा गाउँपालिका ८ बस्ने २५ बर्षिय विवेक राना, सोही गाउँपालिका ५ का अशोक कुमार भण्डारी, गल्याङ नगरपालिका ९ का नरेश बहादुर राना, पुतलीबजार नगरपालिका १३ का छविकुमारी पौडेल, साविक पेल्काचौर ६ का रनबहादुर भन्ने रामबहादुर गुरुङ्, पुतलीबजार ११ का लली तिवारी, गल्याङ नगरपालिका ३ का लालबहादुर कामी, सोही ठाउँका लाल बहादुर सुनार पक्राउ परेको प्रहरी नायव उपरीक्षक चौधरीले जानकारी दिए । पक्राउ पर्ने अभियुक्तहरु विभिन्न मुद्धामा अदालतले जरिवाना र कैद सजाय सुनाएका कसुरदारहरु हुन् । यसैगरी बैदेशिक रोजगार सम्वन्धी मुद्धामा फरार रहेका गल्याङ नगरपालिका ५ बस्ने श्यामबहादुर थापा समेत पक्राउ परेका छन् । जिल्ला अदालतले ४ दिन कैद सजाय र ११ लाख ५० हजार जरिवाना तोकिएका थापालाई प्रहरीको बिशेष टोलीले पक्राउ गरेको हो ।
प्रहरीले चोरीको आरोपमा फेदिखोला ३ की २८ बर्षिय प्रतिमा सुवेदीलाई पक्राउ गरेको जनाएको छ । फेदिखोला गाउँपालिका ५ बागे स्थित उषा शर्माको घरबाट ३ दशमलव ५ तोलाको लकेट सहित सुनको सिक्री १ र २ तोलाको सुनको बेरुवा औठी चोरी गरेको आरोपमा प्रहरीले सुवेदीलाई पक्राउ गरेको हो । फेदिखोला ३ घर भई कास्की पोखरा महानगरपालिका १७ बिरौटा बस्दै आएकी २८ बर्षिय सुवेदीलाई प्रहरीले पक्राउ गरी चोरी सम्वन्धी मुद्धामा अनुसन्धान गरिरहेको जनाएको छ ।
वालिङ १४ का सुर्वण लुईटेललाई धारिलो हतियार प्रयोग गरी घाइते बनाएको आरोपमा प्रहरीले भीरकोट २ का २९ बर्षिय अनिल गुरुङ्लाई पक्राउ गरेको छ । भीरकोट नगरपालिका १ प्रगतिटोलमा गुरुङ्ले धारिलो हतियार प्रयोग गरी लुईटेलको टाउको, घाटी लगायत सम्बेदनशिल अंगमा प्रहारगरी घाइते बनाएका थिए । गुरुङ्लाई ज्यान मार्ने उद्योग कसुरमा मुद्धा दर्ता गरी कानुनी प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहारबाट घाइते लुईटेलको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको र खतरामुक्त अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले नदिजन्य पदार्थ उत्खनन् तथा ओसार पसार गरेको आरोपमा ३ ट्याक्टर नियन्त्रणमा लिएको छ । वालिङबाट १ र चापाकोट नगरपालिकाबाट २ गरी ३ ट्याक्टरलाई प्रहरीले अबैध नदीजन्य पदार्थ ओसारपसार गरेको आरोपमा नियन्त्रणमा लिएको हो । १० गाहाखोला स्थित आँधीखोला किनारबाट ग १ त ६११० नम्बरको ट्याक्टरले बालुवा लोड गरी लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि वालिङ नगरपालिकालाई बुझाएको प्रहरीले जनाएको छ । यसैगरी चापाकोट ७ बनकट्टा घाटबाट अबैध बालुवा लोड गरिरहेको अवस्थामा लु ४ त १८६४ र लु ४ त ९७२४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कारवाहीको चापाकोट नगरपालिकालाई बुझाएको प्रहरीले जनाएको छ । स्याङ्जा प्रहरीले अबैध क्रियाकलापमा संलग्न गर्ने क्रियाकलाप चाडवाडका बेला बढ्न सक्ने भन्दै सक्रियता बढाएको छ ।


प्रतिक्रिया