स्याङ्जामा थपिए ८ हजार बढी नयाँ मतदाता
अमृत अर्याल
वालिङ ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्याङ्जा जिल्लामा मतदाता नामावली अद्यावधिक प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ। यसै क्रममा जिल्लामा ८ हजारभन्दा बढी नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ। असोज ९ गतेदेखि मंसिर ५ गतेसम्म चलेको मतदाता दर्ता अभियानमार्फत कुल ८ हजार २ सय २५ नयाँ मतदाता नामावलीमा समावेश भएका हुन्। जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार मतदाता दर्ता दुई माध्यमबाट गरिएको छ—कार्यालयमै उपस्थित भई दर्ता गराउने र राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनबाट दर्ता गर्ने। उनका अनुसार कार्यालयमा प्रत्यक्ष उपस्थित भई १ हजार ८ सय ४१ जनाले नाम दर्ता गराएका छन् भने ६ हजार ३ सय ८४ जनाले राष्ट्रिय परिचयपत्रको प्रयोग गरी अनलाइनबाटै दर्ता गराएका छन्। राष्ट्रिय परिचयपत्र बनाएका व्यक्तिहरूले घरमै बसेर अनलाइन सिस्टममार्फत सहजै नाम दर्ता गर्न पाउने व्यवस्था भएपछि दर्ता संख्या उल्लेख्य रूपमा बढेको निर्वाचन अधिकारी थापाको भनाइ छ।
राष्ट्रिय परिचयपत्रमार्फत दर्ता उच्च
राष्ट्रिय परिचयपत्रमार्फत मतदाता दर्ता गर्ने सुविधा कार्यान्वयनमा आएपछि यसको प्रभाव स्याङ्जामा विशेष रूपमा देखिएको छ। असोज २८ गतेदेखि मंसिर ५ गतेसम्म ६ हजार ३ सय ८४ मतदाता परिचयपत्रमार्फत दर्ता भए। निर्वाचन कार्यालयले यसलाई ‘अपेक्षाभन्दा धेरै उत्साहजनक’ प्रतिक्रियाका रूपमा लिएको छ। विदेशमा रहेका तथा रोजगारीका कारण जिल्लाबाहिर बस्न बाध्य युवाहरूले यस सुविधाबाट विशेष लाभ पाएको कार्यालय प्रमुख थापाको भनाइ छ। “पहिले विदेशमा बस्ने वा कार्यालयसम्म आइपुग्न नसक्ने धेरै नागरिक मतदाता दर्ताबाट वञ्चित हुन्थे। तर अब राष्ट्रिय परिचयपत्र भएको अवस्थामा अनलाइनबाटै नाम समावेश गर्न पाउने सुविधा आएपछि धेरै नागरिक जोडिनुभएको छ,” प्रमुख थापाले भने।
मतदाता नामावलीको प्रारम्भिक प्रकाशन मंसिर २० गते
निर्वाचन कार्यालयका अनुसार मंसिर २० गते प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरिनेछ। त्यसपछि नागरिकले आफ्नो नाम सही भए नभएको हेरी आवश्यक संशोधनका लागि निवेदन दिन सक्ने व्यवस्था हुनेछ। नामावली सार्वजनिक भएपछि अद्यावधिक प्रक्रिया केही चरणमा विभाजित हुँदै जानेछ। सबै विवरण प्राप्त भएपछि दोहोरो नाम दर्ता भएका, नागरिकता त्याग वा रद्द गरेका, कागजात अपुग भएका तथा मृत्यु भएका नागरिकको विवरण छुट्याइने र आवश्यक सुधार गरिने निर्वाचन अधिकारी थापाले जानकारी दिए।
अन्तिम मतदाता नामावली पुस १५ मा
अन्तिम मतदाता नामावली पुस १५ गते सार्वजनिक गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जाको पूर्ण मतदाता संख्या यही अन्तिम नामावलीमै आधारित रहनेछ। अधिकारी थापाका अनुसार अहिले भइरहेको कामले आगामी निर्वाचन व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ। “अहिलेको अद्यावधिक अभियान सकिएपछि मात्र जिल्लाको वास्तविक मतदाता संख्या यकिन हुनेछ,” थापाले भने।
यसअघि घटेको थियो मतदाता संख्या
२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जामा २ लाख ४४ हजार ८९ मतदाता थिए। तर निर्वाचन आयोगले कार्तिक १६ गते सार्वजनिक गरेको पछिल्लो मतदाता नामावली अनुसार स्याङ्जामा मतदाता संख्या घटेर २ लाख ४१ हजार ६ सय ९९ मा सीमित भएको थियो। नाम कटौती र विवरण अद्यावधिकका कारण मतदाता संख्या घटेको अनुमान गरिन्छ। तर हाल दर्ता अभियानमा ८ हजारभन्दा बढी नयाँ मतदाता समावेश भएपछि आगामी अन्तिम नामावलीमा संख्या फेरि बढ्ने निश्चित भएको छ।
निर्वाचन तयारीमा गति
निर्वाचन मिती नजिकिँदै जाँदा स्याङ्जामा निर्वाचन तयारी पनि तीव्र बन्दै गएको छ। मतदाता शिक्षा, भौतिक पूर्वाधार, निर्वाचन सामग्री व्यवस्थापन, कर्मचारी तालिमजस्ता विषयमा निर्वाचन कार्यालयले तयारी सुरु गरिसकेको छ। “नयाँ मतदाता जोडिनु भनेको लोकतान्त्रिक प्रक्रियाप्रति आम नागरिकको विश्वास र चासो बढ्दो छ भन्ने सङ्केत हो,” प्रमुख थापाले भने। उनका अनुसार युवावर्गको सहभागिता उल्लेख्य रहेको छ, जसले आगामी निर्वाचनमा मत प्रतिशत वृद्धि हुने अपेक्षा गरिएको छ।
अभियानले ल्यायो सकारात्मक प्रभाव
स्थानीय तहदेखि संघीय निर्वाचनसम्म मतदाता दर्ता प्रक्रियामा देखिएको सुधारले नागरिक स्तरमै सकारात्मक प्रभाव पारेको छ। ग्रामीण क्षेत्रका नागरिकले छिट्टै सेवाप्रवाह भएको बताउँदै निर्वाचन कार्यालयको कामप्रति सन्तुष्टि व्यक्त गरेका छन्। विशेषगरी राष्ट्रिय परिचयपत्र प्रणाली डिजिटलाइजेसनसँग जोडिएपछि देशभर दर्ता प्रक्रिया सहज र द्रुत भएको छ। यसले निर्वाचन व्यवस्थापनलाई पनि व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुर्याएको अधिकारीहरू बताउँछन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा मतदाता दर्ता अभियानले उल्लेख्य सफलता हात पारेको छ। ८ हजार २ सय २५ नयाँ मतदाता थपिनुले आगामी निर्वाचनमा स्याङ्जाको मतदाता संरचनामा परिवर्तन आउनेछ। प्रारम्भिक नामावली मंसिर २० मा र अन्तिम पुस १५ मा प्रकाशन हुने भएकाले वास्तविक मतदाता संख्या त्यसपछि मात्र निश्चित हुनेछ। लोकतान्त्रिक अभ्यासमा नयाँ मतदाताको सहभागिता वृद्धि हुनु स्याङ्जाको राजनीतिक परिवेशका लागि सकारात्मक संकेत मानिएको छ।


प्रतिक्रिया