विद्यालयको स्वर्ण महोत्सवमा १५ लाख जुट्यो
भीरकोट ।
स्थापनाको ५० वर्षमा प्रवेश गरेको स्याङ्जाको भीरकोट नगरपालिका–६ उजेलीडाँडास्थित भाग्योदय माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा स्थानीय सहयोगदाताले करिब १५ लाख प्रदान गरेका छन् । भाग्योदय माध्यमिक विद्यालयले माघ १२ देखि १४ गतेसम्म तीन दिवसीय स्वर्ण महोत्सव मनाउने तयारी गरिरहेको छ। भीरकोटको वडा नं ६ मा अवस्थित यो विद्यालयमा नमूना विद्यालयको रूपमा पूर्वाधार विकासको काम समेत भैरहेको छ। २०३३ सालमा स्थापना भएको यो विद्यालय भीरकोटको उत्कृष्ट सामुदायिक विद्यालय पनि हो।
स्वर्ण महोत्सव मनाउन र अन्य काम गर्न सुरु गरिएको आर्थिक सहयोग अभियानमा हालसम्म सो रकम सङ्कलन भएको विद्यालयले जनाएको छ । विद्यालयको मौजुदा कोषबाट खर्च नगरीकन समुदायको आर्थिक सहभागितामा स्वर्ण महोत्सवलाई शैक्षिक उत्सवका रूपमा मनाउन विद्यालयले आर्थिक संकलनका लागि घरदैलो कार्यक्रम गरिरहेको छ। स्वर्ण महोत्सव तयारी र खेलमैदानका लागि जग्गा खरिद गर्ने उद्देश्यले विद्यालयले आर्थिक संकलन गरिरहेको विद्यालयका अध्यक्ष छायाराम खनालले जानकारी दिए। घरदैलो कार्यक्रमबाट श्रद्धापूर्वक स्वस्फुर्त रूपमा सहयोग प्राप्त भएको र हालसम्म १४ लाख ५१ हजार रूपैयाँ संकलन भैसकेको विद्यालयका प्रधानाध्यापक रेशमलाल खनालले जानकारी दिए। स्वर्ण महोत्सवमा २० लाख रूपैयाँ खर्च गरिने प्रधानाध्यापक खनालले बताए।
सबैभन्दा बढी भीरकोट ६ का तोयनाथ अर्याल, तुलसीप्रसाद अर्याल, टिका अर्याल र गोपीकृष्ण अर्यालको परिवार तथा भीरकोट ५ का जगन्नाथ अर्यालको परिवारले ५१ हजार १ सय ५१ प्रदान गरेका विद्यालयका प्रधानाध्यापक रेशमलाल खनालले जानकारी दिए । “स्वर्ण महोत्सवको अवसर पारेर विद्यालयको विविध कामका लागि आर्थिक सहयोग अभियान सुरु गरिएको हो”, उनले भने, “हालसम्म दुई सय भन्दा बढी यस अभियानमा जोडिनुभएको छ ।” स्वर्ण महोत्सव आयोजक मूल समारोह समिति एवं आर्थिक संकलन समितिका संयोजक समेत रहेका अध्यक्ष खनालका अनुसार आर्थिक संकलनका लागि शिक्षक, समाजसेवी र जनप्रतिनिधिसहितको २ वटा समूह बनाएर पुस ५ गतेदेखि समुदायमा परिचालन गरिएको छ। वडा नं ५, ६ र ७ मा घरदैलो भैरहेको उनले बताए। ४ दिनको अवधिमा विद्यालयले करिब १५ लाख रूपैयाँ संकलन गर्न सफल भएको हो। आर्थिक संकलन अभियान अझै जारी छ।
वचत रकमलाई विद्यालयको शैक्षिक गुणस्तर सुधारका कार्यमा खर्च गरिने जनाइएको छ । विद्यालयले न्यून आय भएका परिवारका बालबालिकालाई छात्रवृत्ति, छात्रावास निर्माण, खेलमैदानका लागि जग्गा खरिदलगायत योजना अगाडि बढाएको छ । भीरकोटका जनप्रतिनिधि र स्थानीवासीले विद्यालयको भौतिक संरचना निर्माणमा पहल लिएकाले अहिले सुविधासम्पन्न भवनबाट विद्यालय सञ्चालन भइरहेको विद्यालयका प्रधानाध्यापक खनालले बताए । उनका अनुसार हाल विद्यालयमा ४ सय बढी विद्यार्थी अध्ययनरत छन् ।


प्रतिक्रिया