चापाकोटमा महोत्सवको समय नजिकिएसगै बजार झकिझकाउ

चापाकोट /

स्याङ्जा जिल्लाको दक्षिणी भेगस्थित व्यापारिक केन्द्र चापाकोटमा पौष २५ गतेदेखि माघ ६ गतेसम्म ‘तेस्रो चापाकोट महोत्सव–२०८२’ तयारी पुरा भएको छ । कालीगण्डकी बेसिको समथर भूगोल भएको चापाकोट नगरपालिका–९ सुन्तलीटारस्थित खेलमैदानमा आयोजना गर्न लागिएको महोत्सवको तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलनगरी जानकारी दिएका हुन् ।

‘हाम्रो मान हाम्रो शान, सुन्दर नगर हाम्रो पहिचान’ भन्ने मुलअभियान अन्र्तगत ‘चापाकोट महोत्सवको आधार, कृषि पर्यटन आर्थिक समृद्धिको पूर्वाधार’ भन्ने नारासहित चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेला गर्न लागिएको संघका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक निर्मल रानाले बताए । स्थानीय उत्पादनको प्रवद्र्धन, पर्यटन र आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संयोजक रानाले पत्रकार सम्मेलनमा बताए ।

महोत्सवलाई सफल बनाउन सुन्तीटार बजार क्षेत्रलाई झकिझकाउ बनाइएको छ । जसले गर्दा यहाँका उद्योगी व्यवसायी मात्रै नभएर समग्र चापाकोटवासीको एकताको सन्देश दिएको छ । महोत्सवमा कृषि उत्पादन तथा पशुपंक्षी प्रदर्शनी, औद्योगिक तथा व्यापारिक स्टल, हस्तकला प्रदर्शनी, पर्यटन फोटो प्रदर्शनी, अटोमोबाइल प्रदर्शनीलगायत विविध कार्यक्रम गरिने छ । महोत्सवमा स्थानीय जातजातिको कला संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम, भजन–कीर्तन, रत्यौली, माविस्तरीय हाजिरीजवाफ, जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता तथा ‘तेस्रो चापाकोट डान्स आइडल’ कार्यक्रम समावेश गरिएको छ ।

कृषि विज्ञ र अगुवा किसानबीच कृषिमा सम्भावना विषयक अन्तरक्रिया, लन्डन ब्रिज र इफिल टावरको संरचना, हेलिकप्टरबाट रमणीय स्थलहरूको दृश्यावलोकन, कालीगण्डकी नदीमा जलयात्रा (¥फटिङ्ग) र उपयुक्त स्थलबाट प्याराग्लाइडिङ्गबाटै महोत्सव अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ ।

करिब २५० व्यापारिक स्टल रहनेमहोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा एक करोड रुपैयाँसम्मको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ । महोत्सवबाट बचत हुने रकममध्ये करिब ५० प्रतिशत सामाजिक क्षेत्रमा खर्च गरिने भएको संघले जनाएको छ । शुक्रवारबाट शुरु हुने महोत्सवको गण्डकी प्रदेश सरकारका अर्थमन्त्री टकराज गुरुङ्ले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् ।

 

प्रतिक्रिया