लापसेगरी सवारी चलाउने चालकलाई कैद सजायको फैसला

स्याङ्जा ।
तपाई सिद्धार्थ राजमार्ग प्रयोग गरी सवारी चलाइरहनु भएको छ भने पहिला ख्याल गर्नुहोस ? लागुपदार्थ सेवन गरिरहनु भएको छ भने सिद्धार्थ राजमार्गमा सवारी नचलाउनु होला । किन भने स्याङ्जा प्रहरीले बेला—बेलामा लागुपदार्थ सेवन गरेको छ वा छैन भन्ने बिषयमा चेकिङ् गरिरहेको छ । लापसेगरी सवारी चलाउनु भएको फेला परेमा सिधै कैद सजाय हुनेगरी मुद्धा दर्ता हुन सक्छ । त्यसैले सिद्धार्थ राजमार्ग सगै स्याङ्जाका भित्री सडकमा सवारी चलाउदा अत्यन्तै ख्याल गर्नुहोला । लापसे गरी सवारी चलाउने ९ जनालाई जिल्ला अदालत स्याङ्जाले १४ दिन कैद सजाय र जनही २ सयका दरले जरिवानाको फैसला सुनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दुर्घट्ना न्युनिकरणका लागि लापसे चेकिङ्लाई तिब्रता बनाएको छ । जेठ महिनाबाट शुरु गरिएको यो अभियान हालसम्म स्याङ्जा प्रहरीले जारी राखेको छ । जिल्लामा दुर्घट्नाको तथ्याङ्क हेर्दा अधिकांश दुर्घट्ना लागुपदार्थ सेवन गरी सवारी चलाएको प्रहरीले भेट्टाएपछि लापसे चेकिङ्लाई तिब्र पारेको प्रहरीले जनाएको छ । अहिलेसम्म प्रहरीले गरेको चेकिङ्मा राजमार्ग र भित्री सडकमा चल्ने दुईपाङ्ग्रे सहित सावरीसाधन चेकिङ् गर्दा २५ प्रतिशत चालकले लागुपदार्थ सेवन गरेको तथ्याङ्क देखिने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

शुरुका दिनमा लापसेगरी सवारी चलाउने चालकलाई अभद्र व्यवहारमा मुद्धा चलाएर कारवाही गरेको प्रहरीले पछिल्लो समय जिल्ला अदालत मार्फत कारवाही पक्रिया अगाडी बढाएको छ । लागुपदार्थ सेवन गरी सवारी चलाउने ९ जना चालकलाई जिल्ला अदालत स्याङ्जामा मुद्धा दायर गरेपछि यो बिषयले अहिल बढी चर्चा पाएको छ । लागु औषध (नियन्त्रण) ऐन २०३३ को दफा ४ को खण्ड (क) अनुसार प्रहरीले दर्ता गरेको मुद्धामा जिल्ला अदालत स्याङ्जाले जेल चलान सहित जरिवाना तिर्नुपर्ने फैसला गरेको छ । पौष ३ गते प्रहरी सहितको टोलीले सिद्धार्थ राजमार्गमा गरेको लापसे चेकिङमा ९ जना नियन्त्रणमा परेका थिए ।

स्याङ्जामा लागुपदार्थ सेवनगरी सवारी चलाउने चालक जेल चलानको फैसला यो पहिलो भएको बताइएको छ । जिल्ला अदालत स्याङ्जाले सुनाएको फैसलामा सिद्धार्थ राजमार्गमा सवारी साधन रोकी किटको प्रयोग गरी लागुपदार्थ प्रयोग गरे÷नगरेको चेकजाँच गर्नेक्रममा पक्राउ परेका व्याक्तिहरुले लागु औषध गाँजा प्रयोग गरेको प्रमाण पुगेको उल्लेख छ । कानुनले निषेधित गरेको कसुर ठहर गरेको भन्दै १४ दिन कैद सजाय र अपराध पिडित संरक्षण ऐन २०७५ को दफा ४१ को (१) बमोजिम जनही २ सय पिडित राहत कोषमा क्षतिपुर्ति दाखिला गर्ने फैसला भएको जिल्ला अदालत स्याङ्जाका श्रेस्तेदार भुमिप्रसाद शर्माले बताए । उनका अनुसार प्रतिवादीहरुलाई ठहरेको कैद मुद्धा अनुसन्धानको क्रममा हिरासतमा बसेको र यस अदालतको आदेश अनुसार न्यायिक हिरासतमा बसेको अवधीलाई गणनागरी भुक्तान गरेकोले जनही २ सय रुपैया दाखिला गर्ने फैसाला भएको छ । कारागारमा बस्न नपरेपनि यो सजाय जेल चलान गर्नेसम्मको सजाय भएको अदालतको फैसलामा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जामा प्रहरी प्रमुखको कमाण्ड सम्हाल्न दधिराम न्यौपाने आएपछि फरार अभियुक्त, लापसेगरी सवारी चलाउने, अबैध नदीजन्य पदार्थको बिषयमा योजना बनाएर कार्यसम्पादन शुरु गरेका थिए । दुर्घट्ना न्युनिकरण सहित लागुऔषध ओसारपसारमा स्याङ्जा बढी जोखिममा देखिन थालेपछि प्रहरी प्रमुख न्यौपानेले यसलाई नियन्त्रण गर्न योजनानै बनाएर अगाडी बढाएका थिए । सोही योजना अनुसार २८ जना मध्ये १९ जनालाई अभद्र व्यवहार सम्वन्धी मुद्धा चलाएका थिए भने ९ जनालाई अदालती प्रक्रियामा लगेर कारवाही गरेका छन् ।

प्रहरीको काम शान्तिसुरक्षा कायम सगै अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने हो प्रहरी प्रमुख न्यौपानेले भने,‘अपराधमा संलग्नहरु सबैभन्दा बढी लागुऔषध प्रयोगकर्ता छन् ।’ यसलाई बेलैमा न्युनिकरण गर्न सकिएन भने समग्र शान्तिसुरक्षामा असर पर्ने गर्छ उनले भने । शान्तिसुरक्षा सवल बनाउन, सुरक्षित यात्रा गराउन र समाजलाई अपराधिक मानसिकताबाट टाढा राख्न प्रहरीले लागु औषध र फरार अभियुक्त पक्राउ गर्ने योजना अगाडी बढाएको न्यौपानेले बताए । लागुऔषधको प्रयोगमा युवावर्गहरु नै बढी देखिएपछि प्रहरीले विद्यालयस्तरबाट यो बिषयमा सचेतना जगाउदै आएको छ ।

 

प्रतिक्रिया