स्याङ्जाका जनताको घरदैलोमा उम्मेदवार र दलका कार्यकर्ता

स्याङ्जा ।
आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । प्रतिनिधि सभा सदस्यका लागि स्याङ्जाका दुवै क्षेत्रबाट स्वतन्त्र सहित २४ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रत्येक ५÷५ बर्षमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन यो पटक ३ बर्षमै हुन लागेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण प्रतिनिधि सभा भङ्ग भएपछि फागुन २१ गतेका लागि निर्वाचन तोकिएको थियो । तोकिएकै मितिमा हुने निर्वाचनका लागि अहिले स्याङ्जाका उम्मेदवारहरु जनताको घरदैलोमा मत माग्न व्यस्त छन् । फागुन ४ गतेबाट दलहरु र उम्मेदवारले खुलेर मत माग्न थालेका छन् । निर्वाचन आयोगले चुनावी प्रचारप्रसार खुला गरेपछि उम्मेदवारहरुलाई जनताको घरदैलोमा पुग्न भ्याइनभ्याई छ ।
जिल्लाभर २ लाख ४८ हजार ८ सय १६ मतदाता रहेका छन् । दुवै क्षेत्रका उम्मेदवार अहिले सबै मतदाता भेट्न घरदैलोमा मात्रै होइन विभिन्न शहरहरुमा समेत पुगेका छन् । निर्वाचित भएपछि जनताको घरदैलोमा नपुगेका दल र उम्मेदवार निर्वाचन आएसगै मतदाताको घरमा पुग्ने गरेका छन् । जनताको घरमा पुग्न निर्वाचन नै आउनुपर्ने रहेछ भन्ने बुझाई मतदाताको छ । जनतामा निर्वाचनको उत्साह भएपनि आफुले मतदान दिएर निर्वाचित भएका प्रतिनिधिलाई सधै देख्न पाउनुपर्ने आशामा स्याङ्जाका मतदाता रहेको बताइएको छ ।

निर्वाचित भएपछि ५ बर्षमा आफ्नो क्षेत्रमा गरिने विकासको मोडेल बोकेर आफ्ना प्रतिवद्धता सहित उम्मेदवार र दलका कार्यकर्ताहरुले मत मागिरहेका छन् । स्याङ्जामा बिशेषगरी नेपाली काँग्रेस र नेकपा एमाले विचनै कडा प्रतिस्पर्धा देखिने गरेपनि यो पटकको निर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टीले चुनौती थपिरहेको छ । २०४८ सालदेखी २०७९ को संघिय निर्वाचनमा काँग्रेस र एमालेलाई आलोपालो संसदमा पु¥याएका स्याङ्जावासीले यो पटक कसलाई पठाउने छन् भन्ने आँकलन गर्न कठिन देखिएको छ । काँग्रेस एमाले साख बचाउनेमा देखिएका छन् भने रास्वपा लगायत नेपाली कम्युनिष्ट पार्टी साँख उल्टाउनेमा लागेका छन् । जसले गर्दा काँग्रेस एमालेलाई नेपाली कम्युनिष्ट पार्टीको भन्दा रास्वपासगै भिड्न चुनौती देखिएको छ ।

संघिय लोकतान्त्रिक मुलुक निर्माणसगै भएका दुईओटा निर्वाचनमा काँग्रेस र एमालेले आलोपालो बिजयी हाँसिल गरेका छन् । २०७४ को निर्वाचनमा दुवै संघिय निर्वाचन क्षेत्र नेकपा एमालेले जितेको स्याङ्जामा २०७९ को निर्वाचनमा नेपाली काँग्रेसले बिजयी हाँसिल गरेको थियो । २०८२ को निर्वाचनमा काँग्रेसले पुरानो बिरासत कायम राख्नेगरी चुनावी अभियानलाई तिब्रता दिएको छ भने नेकपा एमालेले २०७४ को बिरासत फर्काउने गरी मतदातासगँ भिडेको छ । तर यो पटकको निर्वाचनमा भने रास्वपा दुवै पार्टीका लागि चुनौती बनेको देखिन्छ । दुवै पटकको निर्वाचनमा काँग्रेस एमाले गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रेका थिए भने यो पटकको निर्वाचनमा सबै पार्टीहरु एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा छन् ।

०६४ सालदेखी पटक—पटक सत्ताको बागडोर सम्हाल्दै आएको नेकपा माओवादी अहिले नेपाली कम्युनिष्ट पार्टी बनेर चुनावी प्रतिष्पर्धामा छ । झण्डै एकदर्जन भन्दा बढी पार्टीहरु मिलेर बनेको नेकपा यो पटक स्याङ्जामा निकै कमजोर देखिएको छ । नेकपा माओवादी हुँदा स्याङ्जामा राम्रो प्रभाव बनाउन नसकेको पार्टीले धेरै शक्तिलाई मिलाएर बनेको नेकपाले काँग्रेस र एमालेका भोट रास्वपाले काट्ने र चुनाव जित्ने दाउमा देखिएको छ । तर त्यो सम्भावना निकै कम हुने राजनीतिक विश्लेषकहरु बताउछन् । नेकपाले स्याङ्जाका दुवै क्षेत्रमा उम्मेदवार उठाएपनि २०७९मा उदय भएको रास्वपा भन्दा पनि तल जनमत देखिएको छ ।

निर्वाचन मिति नजिकिएसगै स्याङ्जामा त्रिपक्षिय भिडन्त देखिन्छ । त्रिपक्षिय भिडन्तमा काँग्रेस, एमाले र रास्वपा छन् । २०७९ को निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर १ मा भन्दा २ मा बलियो उपस्थिती देखाएको रास्वपाले अहिले दुवै क्षेत्रमा आफ्नो उपस्थितीलाई मतदाताले बलियो बनाउनेमा विश्वस्थ देखिन्छ । जिल्लामा सामाजिक विकास देखि नागरिकसगँ ठोक्किएर काम नै नगरेका उम्मेदवार रास्वपाले उठाएकाले चुनाव जित्न अर्कोतर्फ कठिन देखिन्छ । तथापी चुनाव जित्न कठिन देखिएपनि काँग्रेस र एमालेलाई भने रास्वपाले कडा टककर दिएको छ । अधिकांश नागरिकले मत परिवर्तन गर्नुपर्ने संकेत देखिएका बेला काँग्रेस, एमालेले निकै मेहनत गर्नुपर्ने देखिन्छ ।

स्याङ्जामा ८ हजार २ सय २५ नयाँ मतदाता थपिएका छन् । ३ हजार ३ सय ३४ जना महिला, ४ हजार ८ सय ९० पुरुष र एक अन्य गरी ८ हजार भन्दा बढी मतदाता थपिएका छन् । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जामा २ लाख ४४ हजार ८९ मतदाता थिए । पछिल्लो पटक २०८२ कात्तिक १६ मा निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार २ हजार ३९० जनाको नाम हटाएपछि २ लाख ४१ हजार ६९९ मतदाता फागुन २१ मा सहभागी हुनेछन् । २०७९ को निर्वाचनमा झण्डै ६० प्रतिशत मत खसेको स्याङ्जामा यो पटक पनि उत्तिकै प्रतिशत मत खस्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया