सुशासनको नारा दिने रास्वपाका उम्मेदवार नै सुन तस्करीमा दोषी

स्याङजा–
मुलुकमा पुराना दलहरुले भष्ट्रचार गरेको आरोप लगाएर मतदातासगँ भोट मागिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नै सुन तस्करीमा दोषी ठहर भएका व्याक्तिलाई उम्मेदवार बनाएको बुझिएको छ । सुन चोरी पैठारी प्रकरणमा दोषी ठहर भइसकेका स्याङ्जा क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार धनन्जय रेग्मीलाई प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनाएको खुलेको हो । विमानस्थल भन्सार कार्यालयको अभिलेख अनुसार रेग्मीले २०७४ पुस ७ गते कतार एयरवेजको उडानबाट नेपाल फर्कँदा तीन वटा बिस्कुट आकारका करिब ३० ग्राम सुन चोरी पैठारी गरी ल्याएको भेटिएपछि पक्राउ परेका थिए । सोही घटनाका आधारमा उनीविरुद्ध २०७४ पुस ७ मै मुद्दा दर्ता गरिएको थियो ।

भन्सार ऐन २०६४ को दफा २ (च) तथा दफा ५७ (१) अन्तर्गत कसुर ठहर गर्दै विमानस्थल भन्सार कार्यालयले २०७७ भदौ २१ गते उनलाई बिगोबमोजिम एक लाख ४० हजार ६८५ रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । सुन चोरी पैठारीको कसुरमा उक्त जरिवाना निर्धारण गरिएको निर्णयपछि सम्बन्धित निकायलाई जानकारी गराइएको थियो ।

यसैबीच, विमानस्थल भन्सार कार्यालयले २०७८ पुस २९ गते सरकारलाई जानकारी गराएको थियो । सुन तस्करी प्रकरणमा जरिवाना ठहर भएपछि सरकारी पदमा बस्न पाइदैन । उनी पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुँदा लण्डनबाट फर्किने क्रममा अवैध मदिरा ल्याउन नदिएको भन्दै विमानस्थल कर्मचारीसँग दुव्र्यवहार गरेको आरोपमा विवादमा तानिएका थिए । विदेशी मदिरा आयातसम्बन्धी विवाददेखि सुन तस्करी प्रकरणसम्म मुछिएका रेग्मीको रास्वपामा प्रवेशलाई पार्टीले महत्वपूर्ण उपलब्धीका रूपमा प्रस्तुत गरेको छ ।

तर, पार्टीभित्रकै केही कार्यकर्ताले विभिन्न काण्डमा मुछिएका व्यक्तिलाई उम्मेदवार बनाउनु उपयुक्त नभएको टिप्पणी गरेका छन् । चुनावी माहोल तातेका बेला विगतका यस्ता प्रकरणले स्याङजा–१ को चुनावी समीकरणमा कस्तो प्रभाव पार्ने हो, त्यसतर्फ राजनीतिक वृत्तको चासो बढेको छ । स्याङ्जा क्षेत्र नम्बर १ का मतदाताले सुन तस्करीका बिषयमा प्रश्न उठाउन थालेपछि उनले प्रत्येक ठाउँमा सफाई दिदै हिडेका छन् । पर्यटन बोडैको सिइओ हुँदा स्याङ्जामा पर्यटनका लागि कुनै काम नगरेका रास्वपा उम्मेदवार रेग्मीले सांसद बनेपछि धेरै गर्ने बाचा गर्दै मतदातालाई फकाउदै हिडेका छन् ।

प्रतिक्रिया