स्वरेक कालिका मन्दिरमा घण्टी र त्रिशुलको अनावरण
भीरकोट ।
स्वरेक कोट कालिका देवि मन्दिरमा बिहिबार चैते दशैँको शुभ अवसरमा १ सय २६ किलो ७ सय ग्राम र ३० किलो गरी दुईवटा घण्टी तथा त्रिशुल स्तम्भ अनावरण गरिएको छ । साविक स्वरेक गाविसबासीहरुको आस्थाको प्रतीक र स्थानीय संस्कृति तथा धार्मिक परम्पराको अभिन्न अंगका रुपमा रहेको यो मन्दिरमा दाताहरुको सहयोगमा निर्माण गरिएका संरचनाहरुले धार्मिक वातावरणमा नयाँ उत्साह थपिएको छ । अनावरण कार्यक्रममा गण्डकी प्रदेश सांसद सरस्वती अर्याल तिवारीले उक्त संरचनाहरुको अनावरण गरेकी थिइन् । कार्यक्रमका दौरानमा उपस्थित भक्तजनहरु, स्थानीय बासिन्दा र मन्दिरका संरक्षकहरुले यस ऐतिहासिक क्षणमा खुशी व्यक्त गरेका छन् ।
कोट कालिका देवि मन्दिरको इतिहास अत्यन्त पुरानो छ । बाईसे चौविसे राज्य भन्दा पहिले स्थापना भएको यस मन्दिरमा कालिका, देवि, भैरव, चण्डी र बज्रको विशेष पूजाअर्चना गरिन्छ । मन्दिरमा विशेषगरी ठुलो दशैँ र चैते दशैँका अवसरमा पञ्च बली दिइने परम्परा छ । घण्टी र त्रिशुल स्तम्भ निर्माणको लागि स्वरेकबासीहरुको सहयोगमा करिब १२ लाख रुपैयाँको लागत लागेको मन्दिरका सचिव प्रकाश पाण्डेले बताए । मन्दिरको आध्यात्मिक वातावरणलाई अझ सशक्त बनाउन स्थानीय र विदेशमा रहेका स्वरेकबासीहरुको योगदानले महत्वपूर्ण भूमिका खेलेको स्थानीय समाजसेवी तथा भीरकोट नगरपालिकाका निवर्तमान मेयर छायाराम खनालले बताए ।
हाल, भीरकोट–५ मा रहेको कोट कालिका मन्दिरमा भीरकोट–५ र वालिङ–११ का स्थानीयले पञ्च बलि दिँदै आएका छन् । मन्दिरमा पूजा सेन र खांण ठकुरीका कुमार छोराहरुबाट गरिन्छ । परापूर्व कालमा पेखुबाट भैरव देवता उडेर कोटमा विराजमान भएको किम्वदन्ती प्रचलित छ । त्यतिबेला शिला तथा देवतालाई लैजान खन्दै गर्दा भासिँदै गएको र लामा झाँक्री बोलाउँदा भैरव शिला कोटमै बस्ने इच्छा व्यक्त गरेको मानिन्छ । उक्त शिला करिब ३ मिटर गहिराईमा अवस्थित छ र हरेक वर्ष उक्त शिला घुम्ने गरेको बताइन्छ । वर्षाको समयमा पनि यस शिलास्थानमा पानी जम्मा हुँदैन ।
मन्दिर परिसरबाट मनोरम प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । भक्तजनहरु आफ्नो मनोकामना पुरा भएपछि भाकल लिएर मन्दिरमा पुजा गर्ने गर्दछन् । मन्दिरका पूजा व्यवस्थापन समिति अध्यक्ष कृष्ण सेनका अनुसार, ग्रामिण कच्ची सडकको स्तरोन्नति भएमा दर्शनका लागि आवतजावत अझ सहज हुनेछ र भक्तजन थप आकर्षित हुनेछन् । भीरकोटको बयरघारी बजारदेखि बगरेबजार हुँदै तथा वालिङ बजारदेखि भञ्याङ हुँदै वा वालिङ–११ भोर्ले हुँदै गडिभञ्याङबाट समेत कोट कालिका मन्दिर पुग्न सकिन्छ ।
स्वरेक कोट कालिका देवि मन्दिरमा घण्टी र त्रिशुल स्तम्भको अनावरणले धार्मिक आस्था प्रवद्र्धनसँगै यसले स्थानीय संस्कृतिको संरक्षण र समुदायको एकता पनि प्रकट गरेको स्थानीय समाजसेवी निवर्तमान वडाध्यक्ष यामप्रसाद अधिकारीले बताए । धार्मिक स्थलमा दाताको सक्रिय योगदानले परम्परागत र आध्यात्मिक मूल्यको सम्मान गर्दै नयाँ पुस्तालाई प्रेरणा मिलेको अधिकारीको भनाई छ । यस अभियानले देखाएको सामूहिक प्रयासले धार्मिक संस्कारमा सहभागी नागरिकको भूमिका र योगदानको महत्व पुष्टि गरेको उनले बताए ।
समग्रमा, स्वरेक कोट कालिका देवि मन्दिरमा आयोजित यो कार्यक्रम धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक एकताको उत्कृष्ट उदाहरण बनेको वडाध्यक्ष कृष्णबहादुर थापाले बताए । स्थानीय, प्रदेश र विदेशमा रहेका दाताहरुको सहयोग, सामाजिक संजालमार्फत प्रचार–प्रसार र सार्वजनिक उत्साहले मन्दिरलाई आधुनिक समयमा पनि परम्परागत धार्मिक महत्व कायम राख्ने विश्वास जगाएको छ । यसरी मन्दिरले भविष्यमा अझ बढी भक्तजन आकर्षित गर्ने र धार्मिक, सांस्कृतिक गतिविधिमा योगदान दिने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया