चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ

स्याङ्जा ।

स्याङ्जाबाट मोटरसाइकल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पुतलीबजार नगरपालिका–२ दुर्गानगरबाट चोरी भएको मोटरसाइकल प्रकरणमा संलग्न रहेको आरोपमा कास्कीको पोखरा महानगरपालिका–१७ छोरेपाटन शीतलचौतारीका २३ वर्षीय दिपेश गुरुङ पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार वडा प्रहरी कार्यालय बैदाम, कास्कीको सहयोगमा गुरुङलाई पक्राउ गरिएको हो। उनका अनुसार गुरुङविरुद्ध चोरी सम्बन्धी कसुरमा स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार गत असार ३ गते राति पुतलीबजार नगरपालिका–२ दुर्गानगरबाट ग ९ प ६१४० नम्बरको क्रसफायर मोटरसाइकल चोरी भएको थियो। घटनाको अनुसन्धानका क्रममा संलग्न व्यक्तिको पहिचान भएपछि कास्कीबाट गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया