भीरकोटमा खाद्य सुरक्षा सम्बन्धी अभिमुखीकरण
भीरकोट ।
स्याङ्जाको भीरकोट नगरपालिकामा खाद्य सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरस्तरीय खाद्य सुरक्षा समितिको बैठक तथा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। भीरकोट नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा खाद्य वस्तुको गुणस्तर, सुरक्षित उपभोग, बजार अनुगमन तथा खाद्यजन्य जोखिम न्यूनीकरणका विषयमा सरोकारवालालाई जानकारी गराइएको थियो। कार्यक्रमको अध्यक्षता नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले गरेका थिए भने भीरकोट नगरपालिका स्वास्थ्य शाखाका श्रीराम अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए। दहथुम स्वास्थ्य चौकीका प्रमुख जगदीश खनालले सहभागीलाई स्वागत गरेका थिए। कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका मित्रप्रसाद अर्यालले खाद्य सुरक्षाका विविध पक्ष, खाद्यजन्य रोगको रोकथाम, खाद्य गुणस्तर कायम गर्ने उपाय तथा स्थानीय तहको भूमिकाबारे सहजीकरण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले खाद्य सुरक्षाको जिम्मेवारी केवल नगरपालिकाको अनुगमनमा मात्र सीमित नरहने बताए । उनले सुरक्षित र गुणस्तरीय खाद्य सामग्रीको बिक्री–वितरण सुनिश्चित गर्न व्यवसायी, उपभोक्ता तथा सम्बन्धित सबै पक्षको समान सहभागिता र जिम्मेवारी आवश्यक रहेको उल्लेख गरे। उनले खाद्य गुणस्तरसम्बन्धी सचेतना अभिवृद्धि गर्न व्यवसायी तथा सरोकारवालालाई जानकारी दिन अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताउँदै बजारमा व्यवसाय सञ्चालन गर्ने सबै व्यवसायी र उपभोक्ताले खाद्य सुरक्षाका आधारभूत विषय बुझ्नुपर्ने आवश्यकता औँल्याए।
नगरप्रमुख कर्माचार्यले भने, “बजारमा व्यवसाय गर्ने सम्पूर्ण व्यवसायी तथा सबै उपभोक्तालाई खाद्य सुरक्षाबारे जानकारी हुनु जरुरी छ। यही उद्देश्यले हामीले यो कार्यक्रम आयोजना गरेका हौँ ”। उनले बयरघारी बजार ग्रामीण क्षेत्रको प्रमुख व्यापारिक केन्द्र भएकाले यहाँ खाद्य सुरक्षाको मापदण्ड अनिवार्य रूपमा पालना हुनुपर्ने धारणा व्यक्त गरे । नगरप्रमुख कर्माचार्यले बजारमा अझै पनि विषादीयुक्त वस्तुको बिक्री–वितरण हुने, अनुगमनका क्रममा केही व्यवसायीले गुणस्तरहीन सामग्री लुकाउने जस्ता प्रवृत्ति देखिने गरेको उल्लेख गर्दै त्यस्ता गतिविधि तत्काल अन्त्य हुनुपर्ने बताए। उनले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले खाद्य वस्तुको गुणस्तरमा कुनै सम्झौता गर्न नसकिने स्पष्ट पारे।
प्रशिक्षक मित्रप्रसाद अर्यालले खाद्य सुरक्षा, खाद्य स्वच्छता, खाद्यजन्य रोगका कारण, खाद्य वस्तुको सुरक्षित भण्डारण, उत्पादनदेखि उपभोगसम्म अपनाउनुपर्ने सावधानी तथा प्रचलित कानुनी व्यवस्थाका विषयमा प्रशिक्षण दिएका थिए। उनले सुरक्षित खाद्य सामग्रीको प्रयोगले जनस्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने भएकाले स्थानीय तह, व्यवसायी र उपभोक्ताबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा भीरकोट नगरपालिकाका सबै वडाका वडाध्यक्ष, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, व्यवसायी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले खाद्य सुरक्षासम्बन्धी कानुनी व्यवस्था, बजार अनुगमन, खाद्यजन्य जोखिम न्यूनीकरण तथा उपभोक्ता सचेतनाका विषयमा जिज्ञासा राख्दै सुझावसमेत दिएका थिए। भीरकोट नगरपालिकाले आगामी दिनमा पनि नियमित बजार अनुगमन, व्यवसायीलाई आवश्यक अभिमुखीकरण तथा उपभोक्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै खाद्य सुरक्षालाई थप प्रभावकारी बनाउने जनाएको छ। स्थानीय बजारमा गुणस्तरीय र सुरक्षित खाद्य वस्तुको उपलब्धता सुनिश्चित गरी नागरिकको स्वास्थ्य संरक्षणलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।


प्रतिक्रिया