सुशासनसहित समृद्ध भीरकोट निर्माणमा प्रतिबद्ध छौँ

लक्ष्मण लम्साल
प्रमुख प्रशासकीय अधिकृत
भीरकोट नगरपालिका, स्याङ्जा

स्थानीय तह नागरिकसँग प्रत्यक्ष जोडिएको सरकार हो । नागरिकका आवश्यकता, अपेक्षा र समस्यालाई सम्बोधन गर्दै विकास निर्माण, सेवा प्रवाह तथा सुशासनलाई प्रभावकारी बनाउनु स्थानीय सरकारको प्रमुख दायित्व हो । यही दायित्वलाई आत्मसात् गर्दै स्याङ्जाको भीरकोट नगरपालिकाले उपलब्ध स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै विकास निर्माणका कामलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ । सडक, पूर्वाधार, कृषि, पर्यटन, रोजगारी सिर्जना तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेको नगरपालिकाले सुशासन र वित्तीय अनुशासनलाई समेत उत्तिकै महत्व दिएको छ । नगरपालिकाका समग्र गतिविधि, चालू आर्थिक वर्षका योजना, विकास निर्माणको अवस्था, ठेक्का व्यवस्थापन, सुशासन, बेरुजु तथा आगामी प्राथमिकताका विषयमा भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालसँग पब्लिक आवाजका सम्पादक अमृत अर्यालले गरेको कुराकानीको सम्पादित अंश ः

हाकिम साव आराम हुनुहुन्छ ? भीरकोटले विकास निर्माणको कामलाई कसरी अगाडि बढाइरहेको छ ?

धन्यवाद, आरामै छु । भीरकोट नगरपालिकाले नगरवासीको आवश्यकता, माग र प्राथमिकतालाई केन्द्रमा राख्दै विकास निर्माणका कामलाई योजनाबद्ध रुपमा अगाडि बढाइरहेको छ । नगरपालिकाको आन्तरिक स्रोतसाधन तथा नेपाल सरकारबाट प्राप्त अनुदान र अन्य बजेटलाई उपलब्ध स्रोतअनुसार अधिकतम सदुपयोग गर्दै विकासका कार्यक्रम सञ्चालन गरिरहेका छौँ । विशेषगरी सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार निर्माण तथा नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ । विकास निर्माणका योजना छनोट गर्दा जनताको आवश्यकता र स्थानीयस्तरका समस्यालाई ध्यान दिइएको छ । सीमित स्रोत र साधनका बाबजुद उपलब्ध बजेटलाई प्रभावकारी, पारदर्शी र परिणाममुखी ढंगले परिचालन गरी नगरको समग्र विकासमा योगदान पु¥याउने हाम्रो प्रयास रहेको छ । आगामी दिनमा पनि नगरवासीको सुझाव र आवश्यकतालाई समेट्दै विकास निर्माणका कामलाई थप व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढाउनेछौँ ।

चालू आर्थिक वर्षको योजना छनोटमा पालिकाले कुन क्षेत्रलाई बढी प्राथमिकतामा राखेको छ ?

चालू आर्थिक वर्षमा योजना छनोट गर्दा नागरिकको प्रत्यक्ष आवश्यकता र स्थानीयस्तरबाट आएका मागलाई विशेष प्राथमिकता दिएका छौँ । विशेषगरी बस्तीस्तरबाट छनोट भई आएका योजनालाई प्राथमिकताका आधारमा समेटेर कार्यान्वयनमा लैजाने नीति नगरपालिकाले लिएको छ । यस वर्ष नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका ग्रामीण सडक, भौतिक पूर्वाधार निर्माण तथा रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिएको छ । ग्रामीण क्षेत्रका सडक तथा अन्य आवश्यक पूर्वाधारको स्तरोन्नतिले नागरिकको आवागमन सहज बनाउनुका साथै कृषि उत्पादनलाई बजारसम्म पु¥याउन सहयोग पुग्ने अपेक्षा गरेका छौँ । त्यसैगरी स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्ने तथा नागरिकको आयआर्जन बढाउने कार्यक्रमलाई पनि प्राथमिकताका साथ अगाडि बढाइरहेका छौँ । समग्रमा, सीमित स्रोत र साधनलाई नागरिकको बढी आवश्यकता र प्राथमिकता भएका क्षेत्रमा केन्द्रित गरी प्रत्यक्ष उपलब्धि हासिल हुने गरी योजना कार्यान्वयन गर्ने हाम्रो उद्देश्य रहेको छ ।

छनोट भएका योजनाहरुको कार्यान्वयन प्रक्रिया कहाँ पुग्यो ?

गत असार २६ गते सम्पन्न नगरसभाबाट चालू आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पारित भइसकेको छ । सोहीअनुसार नगरपालिकाको वार्षिक बजेट तथा कार्यक्रमसमेत निर्माण भई कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । हाल छनोट भएका योजनाहरुको आवश्यक प्राविधिक प्रक्रिया अगाडि बढाउने काम भइरहेको छ । सम्बन्धित योजनाहरुको प्राविधिक इस्टिमेट तयार गर्ने, लागत निर्धारण गर्ने तथा आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको छ । प्राविधिक इस्टिमेट स्वीकृत भएपछि कानुनी तथा प्रचलित सार्वजनिक खरिद प्रक्रियाअनुसार बोलपत्र आह्वान गर्ने काम सुरु हुनेछ । हामीले योजना कार्यान्वयन गर्दा गुणस्तर, पारदर्शिता र समयसीमालाई विशेष ध्यान दिएका छौँ । निर्धारित प्रक्रिया पूरा गरी चालू आर्थिक वर्षभित्रै प्राथमिकतामा रहेका योजनाहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने लक्ष्य नगरपालिकाको रहेको छ ।

ठेक्कामार्फत काम गर्ने क्रममा ठेकेदारबाट समस्या हुने गरेको देखिन्छ । भीरकोटको हकमा यस्तो समस्या आएको छ कि छैन ?

ठेक्कामार्फत योजना कार्यान्वयन गर्दा नगरपालिका र निर्माण व्यवसायी दुवै सम्झौताका पक्ष हुन्छौँ । सम्झौतामा उल्लेख भएका शर्त, मापदण्ड र निर्धारित समयसीमाअनुसार निर्माण व्यवसायीले काम सम्पन्न गर्नुपर्ने हुन्छ भने नगरपालिकाले पनि आवश्यक सहजीकरण, समन्वय र अनुगमन गर्ने जिम्मेवारी निर्वाह गर्दछ । भीरकोट नगरपालिकाको हकमा विगतमा ठेक्कामार्फत सञ्चालन भएका योजनाहरुमा निर्माण व्यवसायीका कारण त्यस्तो ठूलो समस्या आएको अवस्था छैन । अधिकांश योजनाहरु सम्झौताअनुसार नै अगाडि बढिरहेका छन् । यद्यपि निर्माणका क्रममा देखिन सक्ने सामान्य प्राविधिक वा व्यवस्थापकीय समस्या भने सम्बन्धित निर्माण व्यवसायीसँग आवश्यक समन्वय गरी समाधान गर्दै आएका छौँ । नगरपालिकाले ठेक्का सम्झौताअनुसार कामको गुणस्तर, प्रगति र समयसीमाको नियमित अनुगमन गर्दै आएको छ । तोकिएको मापदण्ड र समयसीमाअनुसार काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आवश्यक निर्देशनसमेत दिइँदै आइएको छ । आगामी दिनमा पनि योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमन र समन्वयलाई थप व्यवस्थित बनाउनेछौँ ।

समयमा योजना सम्पन्न नगर्ने ठेकेदारलाई के–कस्ता कारबाही गर्ने गर्नुभएको छ ?

ठेक्का सम्झौतामा नै योजना सम्पन्न गर्नुपर्ने निश्चित समयावधि तोकिएको हुन्छ । निर्माण व्यवसायीले सम्झौताअनुसार तोकिएको समयभित्र काम सम्पन्न गर्नुपर्ने हुन्छ । समयमै काम सम्पन्न हुन नसक्ने अवस्था देखिएमा कामको प्रगति, वास्तविक अवस्था र प्रचलित कानुनी व्यवस्थालाई आधार मानेर आवश्यक निर्णय लिने गरेका छौँ । हालसम्म कम्तीमा ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति हासिल गरेका निर्माण कार्यहरुको हकमा आवश्यक प्रक्रिया पूरा गरी ठेक्का अवधि थप गरिएको छ । अवधि थप गर्दा निर्माण व्यवसायीले गरेको कामको प्रगति, बाँकी काम सम्पन्न गर्न लाग्ने समय तथा अन्य व्यावहारिक पक्षलाई समेत ध्यान दिइन्छ । तर सम्झौतामा तोकिएको समयसीमा पालना नगर्ने, काममा अनावश्यक ढिलाइ गर्ने वा सम्झौताका शर्तहरु उल्लंघन गर्ने निर्माण व्यवसायीलाई भने प्रचलित कानुन तथा सार्वजनिक खरिदसम्बन्धी व्यवस्थाअनुसार आवश्यक कारबाही गरिनेछ । नगरपालिकाको प्राथमिकता भनेको निर्माण व्यवसायीलाई जिम्मेवार बनाएर गुणस्तरीय काम समयमै सम्पन्न गराउनु हो ।

सुशासनका लागि कत्तिको ध्यान दिने गर्नुभएको छ ?

समग्र शासन व्यवस्थाको मूल उद्देश्य नै सुशासन कायम गर्नु हो । त्यसैले भीरकोट नगरपालिकाले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउन विशेष ध्यान दिँदै आएको छ । हामीसँग उपलब्ध स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै नागरिकले सहज, सरल र समयमै सेवा पाउने वातावरण निर्माण गर्ने प्रयास गरिरहेका छौँ । नगरपालिकाबाट प्रवाह हुने सेवा तथा विकास निर्माणका काममा पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखिएको छ । नागरिकका गुनासा, सुझाव र समस्यालाई सम्बन्धित शाखा तथा जिम्मेवार पदाधिकारीमार्फत सम्बोधन गर्ने प्रयास हुँदै आएको छ । साथै, सेवाग्राहीलाई अनावश्यक झन्झट नहोस् र सार्वजनिक सेवा प्रवाहमा कुनै समस्या नआओस् भन्ने विषयमा कर्मचारीलाई समेत आवश्यक निर्देशन दिइँदै आएको छ । सुशासन कुनै एक व्यक्ति वा शाखाको मात्र जिम्मेवारी नभई जनप्रतिनिधि, कर्मचारी र नागरिक सबैको साझा दायित्व हो । त्यसैले आगामी दिनमा पनि नागरिकको विश्वास र अपेक्षालाई केन्द्रमा राख्दै सेवा प्रवाहलाई थप पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउनेतर्फ नगरपालिकाले निरन्तर काम गर्नेछ ।

विकास निर्माण तथा सुशासनमा जनप्रतिनिधिहरु कत्तिको संवेदनशील रहेको पाउनुभएको छ ?

भीरकोट नगरपालिकाका जनप्रतिनिधिहरु विकास निर्माण, सुशासन तथा नगरपालिकाका समग्र गतिविधिप्रति निकै संवेदनशील र सक्रिय रहेको पाएको छु । उहाँहरुले नगरवासीको आवश्यकता र अपेक्षालाई प्राथमिकतामा राख्दै विकासका योजना तथा कार्यक्रमको कार्यान्वयनमा निरन्तर चासो र निगरानी राख्ने गर्नुभएको छ । विशेषगरी विकास निर्माणका कामको प्रगति, गुणस्तर तथा प्रभावकारिताका विषयमा जनप्रतिनिधिहरुले नियमित रुपमा जानकारी लिने र आवश्यक समन्वय गर्ने गर्नुभएको छ । उहाँहरु आफैँ पनि विकास निर्माणका विभिन्न कामको स्थलगत अनुगमनमा खटिनुहुन्छ र देखिएका समस्या समाधानका लागि सम्बन्धित पक्षसँग समन्वय गर्नुहुन्छ । त्यसैगरी नागरिकका गुनासा तथा समस्यालाई सम्बोधन गर्ने, सेवा प्रवाहलाई सहज बनाउने र नगरपालिकाको कामलाई पारदर्शी तथा जवाफदेही बनाउने विषयमा पनि जनप्रतिनिधिहरुको सकारात्मक चासो रहेको छ । समग्रमा भन्नुपर्दा, जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय तथा सहकार्यबाट नगरपालिकाका विकास निर्माण र सेवा प्रवाहका कामलाई थप प्रभावकारी बनाउन सहज भएको छ ।

सुन्दर पालिका निर्माणका लागि कुनै विशेष कार्यक्रम छनोट गर्नुभएको छ कि ?

नेपालको संविधानले स्थानीय तहलाई दिएको अधिकार र जिम्मेवारीअनुसार भीरकोट नगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ । भीरकोट शहरोन्मुख पालिका भएकाले यहाँको विकासलाई व्यवस्थित, दिगो र उत्पादनमुखी बनाउँदै लैजानुपर्ने आवश्यकता छ । नगरपालिकाले ‘समृद्ध भीरकोटको आधार, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने नारालाई आत्मसात् गर्दै कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । स्थानीयस्तरमा रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने, उत्पादन वृद्धि गर्ने र नागरिकलाई कृषितर्फ आकर्षित गर्ने उद्देश्यले विभिन्न कृषि उद्यम तथा व्यवसायिक कृषि कार्यक्रमहरु छनोट गरी सञ्चालनमा ल्याइएका छन् । त्यसैगरी कृषि क्षेत्रसँगै पर्यटन र आवश्यक पूर्वाधारको विकासलाई पनि सँगसँगै अगाडि बढाउने नीति लिएका छौँ । स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै उत्पादन तथा रोजगारी वृद्धि गर्ने र नागरिकको जीवनस्तरमा सुधार ल्याउने हाम्रो मुख्य उद्देश्य हो । सुन्दर पालिका निर्माण भनेको केवल भौतिक पूर्वाधार विकास गर्नु मात्र होइन, आर्थिक रुपमा सबल, सामाजिक रुपमा समावेशी र वातावरणीय रुपमा स्वच्छ तथा व्यवस्थित नगर निर्माण गर्नु पनि हो । त्यसैले कृषि, पर्यटन, पूर्वाधार तथा रोजगारीलाई एकीकृत रुपमा अगाडि बढाउँदै समृद्ध, आत्मनिर्भर र सुन्दर भीरकोट निर्माण गर्ने दिशामा नगरपालिका केन्द्रित रहेको छ ।

प्रायःजसो स्थानीय तहमा बेरुजुको समस्या निक्कै देखिने गरेको छ । तपाईंको पालिकाको अवस्था कस्तो छ ?

बेरुजु नियन्त्रण र वित्तीय अनुशासन कायम गर्ने विषयलाई भीरकोट नगरपालिकाले निकै गम्भीरताका साथ लिएको छ । हामी गर्वका साथ भन्न सक्छौँ कि भीरकोट नगरपालिका स्याङ्जा जिल्लामै सबैभन्दा कम बेरुजु भएको पालिकामध्ये एक हो । स्थानीय तहमा हुने शासन सञ्चालन तथा आर्थिक कारोबारका क्रममा प्रक्रिया र कानुनी व्यवस्थाबीच पूर्ण तादात्म्यता नमिल्दा कहिलेकाहीँ बेरुजु देखिन सक्ने अवस्था रहन्छ । नगरपालिकाले आर्थिक कारोबारलाई व्यवस्थित, पारदर्शी र नियमसम्मत बनाउन आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउँदै आएको छ । विशेषगरी सूत्र प्रणालीमार्फत आर्थिक कारोबार तथा लेखा व्यवस्थापन गर्ने भएकाले वित्तीय अनुशासन कायम गर्न र सम्भावित त्रुटि तथा बेरुजु न्यूनीकरण गर्न सहयोग पुगेको छ । भीरकोट नगरपालिकाको कुल कारोबारको तुलनामा बेरुजुको अवस्था अत्यन्त न्यून रहेको छ । हाल कुल कारोबारको ०.११ प्रतिशतभन्दा कम बेरुजु रहेको अवस्था छ । यसले नगरपालिकाको वित्तीय व्यवस्थापन, लेखा प्रणाली र आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी रहेको देखाउँछ । आगामी दिनमा पनि कानुन तथा प्रचलित आर्थिक कार्यविधिको पूर्ण पालना गर्दै बेरुजु न्यूनीकरण तथा वित्तीय सुशासनलाई थप मजबुत बनाउने हाम्रो प्राथमिकता रहनेछ ।

अन्त्यमा पब्लिक आवाज मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

अन्त्यमा पब्लिक आवाजमार्फत भीरकोटका सम्पूर्ण आम नागरिकमा म के आग्रह गर्न चाहन्छु भने, भीरकोट सरकार यहाँहरुले नै निर्वाचित गरेर पठाउनुभएको स्थानीय सरकार हो । त्यसैले नगरपालिकाप्रति यहाँहरुको अपनत्व, चासो र निगरानी उत्तिकै महत्वपूर्ण हुन्छ । नगरपालिकाबाट प्रवाह हुने सेवा, विकास निर्माण तथा अन्य गतिविधिका सम्बन्धमा यहाँहरुका कुनै समस्या, गुनासा, सुझाव वा अपेक्षा छन् भने हामीलाई खुलेर जानकारी गराइदिनुहोला । जनताका समस्या र गुनासो समयमै जानकारी प्राप्त भएमा त्यसलाई सम्बोधन गर्न हामीलाई पनि सहज हुन्छ । नगरपालिकाका कामकारबाहीलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन नागरिकको सुझाव र रचनात्मक सहयोग आवश्यक छ । ‘हाम्रो नगर, हाम्रो जिम्मेवारी’ भन्ने भावनाका साथ जनप्रतिनिधि, कर्मचारी र आम नागरिकबीचको सहकार्यबाट मात्रै समृद्ध, सुन्दर र व्यवस्थित भीरकोट निर्माण गर्न सकिन्छ । त्यसैले नगरपालिकाको विकास र सेवा प्रवाहमा निरन्तर साथ, सहयोग, सुझाव र खबरदारी गरिदिनुहुन सम्पूर्ण नगरवासीमा हार्दिक आग्रह गर्दछु । जाँदाजाँदै यो अवसरका लागि जिल्लाको लोकप्रिय मिडिया पब्लिक आवाजलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।

प्रतिक्रिया